ताजा खाबर :

News

झण्डै आठ करोड बराबरको प्रतिवन्धित जडिबुटी बरामद

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २६ बैसाख
सशस्त्र प्रहरीले पश्चिमी सीमानाका गड्डाचौकी नजिकै प्रतिवन्धित जडिबुटी पाँच औंले बरामद गरेको छ । राजश्व तथा भन्सार सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको गस्ती टोली आइतबार बिहान गड्डाचौकी–ब्रम्हदेव सडकखण्डमा पर्ने मटेना क्षेत्रबाट ठूलो परिमाणमा प्रतिवन्धित जडिबुटी पाँच औंले बरामद गरेको हो । 
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ मटेनामा आइतबार बिहान करिब डेढ बजेतिर भारततर्फ निकासी भइरहेको चार बोरा प्रतिवन्धित जडिबुटी पाँच औंले बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नेत्र केसीले जानकारी दिनुभयो । उहाँले प्रतिवन्धित जडिबुटी पाँच औंले ओसार पसारमा प्रयोग भएको दुई वटा मोटरसाईकलपनि बरामद भएको बताउनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीको गस्ती टोलीले म १ प ३४३६ र भारतिय यूए–०६–जी–२९६३ नम्बरको मोटरसाईकलसहित प्रतिवन्धित जडिबुटी पाँच औंले बरामद गरेको हो । बरामद मोटरसाईकल र जडिबुटी जिल्ला बन कार्यालय कञ्चनपुरको जिम्मा लगाईने सशस्त्र प्रहरी नायव उपरीक्षक केसीले बताउनुभएको छ । 
सरकारले पाँच औलेको संकलन, विक्रीवितरण र निकासी समेत गर्न निषेध गरेको छ । वन कार्यालयका सहायक वन अधिकृत नैनसिँह खत्रीले वन नियमावलीमा पाँच औले जडिबुटि प्रति गोटा एक हजार रुपैयाँ मूल्य निर्धारण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सशस्त्र प्रहरीले बरामद गरेको जडिवुटी झण्डै आठ करोड रुपैयाँको रहेको छ । सहायक वन अधिकृत खत्रीले जडिबुटीसँगै बरामद गरिएको नेपाली नम्बरको मोटरसाईकलका आधारमा तस्करहरु पत्ता लगाएर अदालतमा मुद्दा दायर गरिने बताउनुभएको छ ।