ताजा खाबर :

News

image not found

संगम हत्याकाण्ड पत्ता लगाउन यौनकर्मी गुहार्दै कञ्चनपुर प्रहरी

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २६ बैसाख
कञ्चनपुरको महेन्द्रनगरस्थित संगम होटलमा भएको बिभत्स हत्याकाण्डमा संलग्न हत्याराहरु पत्ता लगाउन प्रहरीले यौनकर्मी युवतीलाई गुहारेको छ । बिभत्स हत्याकाण्ड भएको तीन दिन बिति सक्दापनि संलग्नहरुको बारेमा केही सुईको सम्म नपाएपछि कञ्चनपुर प्रहरीले हत्यारा पत्ता लगाउन यौनकर्मी युवतीहरुलाई सहयोगका लागि गुहारेको हो । 
प्रहरी निकट स्रोतका अनुसार कञ्चनपुरका प्रहरी उपरीक्षक तुलसीप्रसाद अधिकारीले संगम हत्याकाण्डको अनुसन्धानमा सघाउन महेन्द्रनगरमा चर्चित दुई जना यौनकर्मी युवतीलाई आग्रह गर्नुभएको छ । दुबै युवतीले प्रहरी उपरीक्षक अधिकारीसामु प्रहरीलाई सघाउने बताएपनि बाहिर आएर केही सहयेग नगरेको दाबी स्रोतले गरेको छ । कञ्चनपुर प्रहरीले केही समय अघि सार्वजनिक अपराध अन्तरगत मुद्दा दायर गरेर कारवाही अघि बढाएकाले दुबै युवती प्रहरीलाई सहयोग नगर्ने पक्षमा देखिएका छन् । 
यसैबीच जिल्ला प्रहरी कार्यालयले हत्याको कारण नजिक अनुसन्धान पुगेको दावी गरेपनि संलग्नहरुका बारेमा एकिन गर्न सकेको छैन् । कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक केदार खनालले प्रहरी अनुसन्धान हत्या नजिक पुगेको प्रतिक्रिया दिनुभएको छ । उहाँले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै घट्नाका बारेमा बिस्तृत रुपमा अहिले नै भन्न नमिल्ने बताउनुभयो । प्रहरीले घट्नामा गम्भीर घाइते भई कोहलपुरमा उपचार भइरहेका होटलका कामदारको स्वास्थ्य अवस्थामा सुधार आएपछि उनले दिने बयानका आधारमा पनि अनुसन्धान गर्ने तयारी गरेको छ । 
बिहीबार राति धारिलो हतियार प्रहार गरेर होटलका कारिगर कृष्णसिँह बिष्ट र वेटर भीम रोकायाको बिभत्स ढंगबाट हत्या गरिएको थियो । हत्या गरिएकाहरुसँगै बस्ने अर्का वेटर पदमराज जोशी गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । घट्नापछि प्रहरीले होटल सञ्चलक मोहनसिह खत्री, वेटर सुरज रावत र बिहीबार राति होटलमा बास बसेका पाहुनाहरुलाई नियन्त्रणमा लिएर घट्ना बारे सोधपुछ गरेको थियो ।