ताजा खाबर :

News

image not found

सुदूरपश्चिममा वन्यजन्तु तस्करी कारोबार डर लाग्दो रुपमा बढ्दै

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ३० बैसाख
सुदूरपश्चिममा वन्यजन्तुका छाला तथा हड्डी तस्करीको कारोबार डर लाग्दो रुपमा बढ्दै गएको छ । पछिल्लो डेढ वर्षमा सुदूरपश्चिमका विभिन्न क्षेत्रबाट दुर्लभ पाटेबाघ र चितुवाको छाला दुई दर्जन र हड्डी झण्डै डेढ क्विन्टल बरामद गरिएको छ ।
सुदूरपश्चिमका जिल्ला वन कार्यालयहरुले दिएको जानकारी अनुसार अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षको अहिलेसम्ममा तस्कर समुहबाट सात वटा दुर्लभ पाटेबाघका र १८ वटा चितुवाका छाला बरामद गरिएको छ । तथ्याङ्क अनुसार खासगरी तस्करी चार जिल्ला कञ्चनपुर, कैलाली, डडेल्धुरा र बैतडीबाट भएको देखिन्छ । यो अवधिमा सबैभन्दा बढी भारतसँग सीमानाका जोडिएको कञ्चनपुर र कैलालीबाट पाटेबाघ र चितुवाको छाला र हड्डी बरामद भएको छ । 
२०७१ माघबाट अहिलेसम्म कञ्चनपुरमा तीन थान र कैलालीबाट चार थान पाटेबाघको छाला बरामद भएको हो । त्यस्तै कञ्चनपुरबाट आठ, कैलालीबाट पाँच, डडेल्धुराबाट चार र बैतडीबाट एक थान चितुवाको छाला बरामद भएको छ । 
सुदूरपश्चिम क्षेत्रीय वन निर्देशनालय धनगढीका तालिम अधिकृत रमेशबहादुर चन्दले बरामद गरिएको आखेटोपहार भन्दा बढी तस्करी भएको हुन सक्ने बताउनभुयो । तस्करले स्थानीय बासिन्दा मार्फत नै वन्यजन्तु मार्न लगाउने गरेको पाइएको छ ।
 
तस्बिर सौजन्य :- नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी भीमबहादुर थापाको फेशबुकबाट 
(केही दिन अघि शुक्लाफाँटा वन्यजन्तु आरक्षको लालपानी क्षेत्रमा देखिएका पाटेबाघ)