ताजा खाबर :

News

image not found

सुप विश्वविद्यालयका रजिष्ट्रार पदीय मर्यादा विपरित एमालेको गुणगान गाउँदै

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ३ जेठ
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्ट पदीय मर्यादा विपरित राजनीति गरिरहनु भएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीबाट नियुक्त रजिष्ट्रार भट्ट वर्तमान सरकार ढाल्ने प्रतिपक्षी नेपाली काँग्रेसको प्रयास असफल भएपछि आक्रामक रुपमा नेकपा एमालेको गुणगान गाउन लाग्नु भएको हो । 
उहाँले पदीय मर्यादा विपरित सामाजिक सञ्जालहरु फेशबुक र ट्वीटरमा सत्तासाझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवालाई हेपेर स्टाटर पोष्ट र ट्वीट गर्नुभएको छ । उहाँले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई नक्कली क्रान्तिकारीको संज्ञा दिनुभएको छ । रजिष्ट्रार भट्टले आगामी दिनमा चुनाव भए एमालेले बहुमत ल्याउने दाबी गर्दै नेपालीको स्वभिमान गिराउने भारतीय दलाल र नक्कली क्रान्तिकारी पराजित हुने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 
त्यसै गरी उहाँले चुनावमा पराजित हुने डरले मधेसी मोर्चा र काँग्रेसले स्थानीय निर्वाचनको विरोध गरेको धारणा राख्दै सवै दलका कार्यकर्ता र जनताले चुनाव चाहेको उल्लेख गर्नुभएको छ । बाम गठबन्धन नभत्काएर एकीकृत माओवादी अध्यक्ष प्रचण्डले आगामी बजेट र नीति तथा कार्यक्रम ल्याउन दिएर प्रधानमन्त्री बने जनताका लागि राम्रो हुने भन्दै रजिष्ट्रार भट्टले भारतीय गोटीको चालमा परेका प्रचण्डले के–के गर्छन भन्दै प्रश्न गर्नुभएको छ । 
उहाँले एमालेको जिम्मेवार नेता दिने अभिव्यक्ति जस्तै नेपाल जोगाउन प्रचण्ड र प्रधानमन्त्री ओलीबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ । रजिष्ट्रार भट्टले फाष्ट ट्रयाक भारतलाई निर्माणको जिम्मा दिनु पर्छ भनेर काँग्रेस सभापति देउवाले स्वाभिमानमा चोट पुर्याएको भन्दै प्रतिपक्षी पार्टीको संसदीय दलका नेतालाई धिक्कार्नु भएको छ ।  यस बारेमा प्रतिक्रिया लिन खोज्दा रजिष्ट्रार भट्टले  सामाजिक  सञ्जालमा व्यक्त अभिव्यक्तिका बारेमा केही प्रतिक्रिया नदिने बताउनुभएको छ ।    
 
( रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा लेखेका स्टाटस् र ट्वीटहरुका स्क्रिन सटहरु हामीसँग सुरक्षित छन् । )