ताजा खाबर :

News

image not found

‘ओली सरकार संविधान कार्यान्वयन गर्न असफल’

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ३ जेठ
नेपाली काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकार राजनीतिक दलहरुका बीचमा मेलमिलाप र सहमति कायम गरेर संविधान कार्यान्वयन गर्न असफल भएको आरोप लगाउनु भएको छ । 
नेपाली काँग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ४ ले पार्टीको संगठन सुदृढिकरण र विस्तार सम्बन्धी सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले वर्तमान सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन कुनै काम नगरेको दाबी गर्नुभयो । नेता लेखकले नेकपा एमाले नेतृत्वको सरकारले संविधानप्रति असन्तुष्ट पक्षको असन्तुष्टिलाई सम्बोधनका लागि प्रयास समेत नगरेको टिप्पणी गर्नुभयो । 
काँग्रेस स्थानीय निकायको चुनावको विपक्षमा नरहेको जिकिर गर्दै उहाँले सरकारले तोके अनुसार आगामी मंसिरमा चुनाव गर्नुको कुनै औचित्य नै नभएको बताउनुभयो । सरकारबाट गठित बालनन्द पौडेल नेतृत्वको आयोगले सिमाना र नगरपालिका तथा गाविसको संख्या निर्धारण गरे काँग्रेस जुन सुकै बेलापनि चुनावका लागि तयार रहेको स्पष्ट पार्नुभयो । 
सत्ता साझेदार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारप्रति असन्तुष्टि जनउँदै काँग्रेस सभापति शेरबहादुर देउवा समक्ष सरकार ढाल्ने प्रस्ताव गरेको स्पष्ट पार्नुभयो । ओली नेतृत्वको सरकार ढाल्ने प्रस्ताव गरेका प्रचण्डले काँग्रेससँग छलफल चलिरहेकै बेला एमालेसँग नौ बुँदे सम्झौता गरेर दोहोरो चरित्र देखाएको नेता लेखकको भनाई थियो ।