ताजा खाबर :

News

image not found

रजिष्ट्रार भट्ट विरुद्ध आन्दोलन घोषणा गर्ने विद्यार्थी संगठनहरुको तयारी

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ४ जेठ  
पदीय मर्यादा विपरित सत्तारुढ नेकपा एमालेको गुणगान गाउँदै आएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टविरुद्ध आन्दोलन तय गर्न विद्यार्थी संगठनको संयुक्त बैठक बस्ने भएको छ । विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी ओलीबाट नियुक्त रजिष्ट्रार भट्ट विरुद्ध आन्दोलन तय गर्न नेविसंघ र अखिल क्रान्तिकारीको संयुक्त बैठक बस्ने भएको हो । 
पदीय मर्यादा विपरित सामाजिक सञ्जालमा एमालेको गुणगान गाउँदै आएका रजिष्ट्रार विरुद्ध आन्दोलन तय गर्न मंगलार अपरान्ह ४ वजेपछि अखिल क्रान्तिकारीसँग संयुक्त बैठक बस्न लागेको नेविसंघ जिल्ला सदस्य किशोर जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार नेविसंघ र अखिल क्रान्तिकारीलाई विप्लव नेतृत्वको अखिल क्रान्तिकारीलेपनि साथ दिने भएको छ । वर्तमान सरकार ढाल्ने प्रतिपक्षी नेपाली काँग्रेसको प्रयास असफल भएपछि रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा आक्रामक रुपमा सत्तासाझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवालाई हेपेर स्टाटस् पोष्ट र ट्वीट गर्नुभएको छ । 
उहाँले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई नक्कली क्रान्तिकारीको संज्ञा दिनुभएको छ । रजिष्ट्रार भट्टले आगामी दिनमा चुनाव भए एमालेले बहुमत ल्याउने दाबी गर्दै नेपालीको स्वभिमान गिराउने भारतीय दलाल र नक्कली क्रान्तिकारी पराजित हुने सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ । 
यस बारेमा प्रतिक्रिया लिन खोज्दा रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा व्यक्त अभिव्यक्तिका बारेमा केही प्रतिक्रिया दिन मान्नु भएको छैन् । रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा एमालेका नेता कार्यकर्ताको शैलीमा बढाएको सकृयता बारे समाचार सार्वजनिक भएपछि नेविसंघ र अखिल क्रान्तिकारीका विद्यार्थीहरुले सामाजिक सञ्जालमै आक्रोश पोखेका छन् भने एमाले निकटको अनेरास्ववियुका विद्यार्थी नेताहरुले रजिष्ट्रारको बचाउ गरिरहेका छन् ।