ताजा खाबर :

News

image not found

एमालेको गुणगान गाउने रजिष्ट्रार विरुद्ध चार विद्यार्थी आन्दोलित

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ४ जेठ
कञ्चनपुरका चार विद्यार्थी संगठनहरुले पदीय मर्यादा विपरित सत्तारुढ नेकपा एमालेको गुणगान गाउँदै आएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टविरुद्ध आन्दोलनको घोषणा गरेका छन् । 
नेपाली काँग्रेस निकट नेवि संघ, एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंले राजिष्ट्रार भट्ट विरुद्ध आन्दोलनको घोषणा गरेका हुन् । भीमदत्त नगरपालिका कार्यालय परिसरमा मंगलबार अपरान्ह बसेको चारै विद्यार्थी संंगठनहरुको संयुक्त बैठकले रजिष्ट्रार भट्टको राजीनामा माग गर्दै आन्दोलन चर्काउने निर्णय गरेको नेवि संघ कञ्चनपुरका सदस्य केशव जोशीले जानकारी दिनुभएको छ । विद्यार्थी संगठनहरुले रजिष्ट्रारको राजीनामा माग गर्दै बुधबार बिहान १० वजे विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठलाई ज्ञापन पत्र बुझाउने निर्णय गरेका छन् । यस्तै विद्यार्थी संगठनहरुले भट्टको राजीनामा माग गर्दै प्रधानमन्त्री कार्यालय र शिक्षा मन्त्रालयमापनि ज्ञापन पत्र बुझाउने बताएका छन् ।
ज्ञापन पत्रबाट माग सम्बोधन नभए उनीहरुले प्रदर्शन, धर्ना तथा तालाबन्दीसम्मका बिरोधका कार्यक्रमहरु गर्ने मनसाय बनाएको बैठकमा सहभागि एक बिद्यार्थी नेताले बताएका छन् । बैठकमा नेविसंघका अध्यक्ष अच्युतराज कलौनी, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य नवराज ऐर, विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष बिरेन्द्र शाह, अखिल छैठौंका अध्यक्ष भीम जोशी लगायतका विद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । 
विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीबाट नियुक्त रजिष्ट्रार भट्टले पदीय मर्यादा विपरित सामाजिक सञ्जालमा एमालेको गुणगान गाउँदै आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरेपछि चार वटै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । वर्तमान सरकार ढाल्ने प्रतिपक्षी नेपाली काँग्रेसको प्रयास असफल भएपछि रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा आक्रामक रुपमा सत्तासाझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवालाई हेपेर स्टाटस् पोष्ट र ट्वीट गर्नुभएको छ । उहाँले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई नक्कली क्रान्तिकारीको संज्ञा दिनुभएको छ ।