ताजा खाबर :

News

image not found

क्याम्पस प्रमुखलाई राजीनामा दिन अख्तियारका प्रहरी निरीक्षकको दवाव

 
राम धामी
डडेल्धुरा, ४ जेठ
राजनीतिक हस्तक्षेप र भागबण्डाका कारण विवादमा आइरहने डडेल्धुरा बहुमुखी क्याम्पसमा पछिल्लो समय प्रशासनिक हस्तक्षेप बढ्दै गएकोे छ । 
त्रिभुवन विश्वविद्यालयको कान्छो आंगिक क्याम्पसका रुपमा परिचित डडेल्धुरा बहुमुखी क्याम्पसमा विश्व विद्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय सम्पर्क कार्यालय महेन्द्रनगरबाट नियम र कार्यक्षेत्र विपरित हस्तक्षेप हुँदा क्याम्पस सञ्चालनमा कठिनाई आइरहेको क्याम्पस प्रमुख नेत्रप्रसाद पनेरुले बताउनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयबाट अनुसन्धानका क्रममा आएको टोलीका एक प्रहरी निरीक्षकले क्याम्पस प्रमुख पनेरुलाई तत्काल पदबाट राजिनामा गर्न दबाब दिएको क्याम्पस श्रोतले जनाएको छ । क्याम्पसमा अख्तियार दुरुपयोग भइरहेको बिभिन्न उजुरीका आधारमा छानबिनमा आएको आयोगको टोलीमा संलग्न प्रहरी निरीक्षक चक्रबहादुर मल्लले तत्काल राजिनामा गर्न दबाब दिनुभएको हो । कर्मचारीलाई नियन्त्रणमा राख्न नसक्ने भन्दै क्याम्पस प्रमुख पनेरुलाई प्रहरी निरीक्षक मल्लले तत्काल राजिनामा गर्न दबाब दिएको बताइएको छ । 
क्याम्पस प्रमुख पनेरुले कार्यक्षेत्र विपरित गएर प्रहरी निरीक्षक मल्लले राजिनामा गर्न दबाब दिएको बताउनुभयो । क्याम्पस श्रोतका अनुसार क्याम्पसमा नियुक्त नगरिएका र काजमा अन्यन्त्र रहेका कर्मचारीलाई तत्काल पारिश्रमिक दिनसमेत प्रहरी निरीक्षक मल्लले क्याम्पस प्रमुख पनेरुलाई दबाब दिनुभएको छ । मल्लको दबाबपछि क्याम्पस प्रमुख पनेरुले नियुक्त नभएका कर्मचारीलाई आठ महिना पहिलेको मितिमा नियुक्ति दिएर पारिश्रमिक उपलब्ध गराउनुभएको छ भने क्याम्पसमा दरबन्दी भई हाल अन्य जिल्लामा कार्यरत एक कर्मचारीको पारिश्रमिक दिन लामो समयदेखि आलटाल गर्दै आएको क्याम्पसले हाल पारिश्रमिक भुक्तानी गरेको छ । 
यस सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम क्षेत्रीय कार्यालयका प्रवक्ता बिष्णुसिँह बिष्टले अख्तियारको टोलीमा गएका प्रहरी निरीक्षक मल्लले कसैलाई राजिनामा गराउन दबाब दिने क्षेत्राधिकार नभएको बताउनुभयो । उहाँले क्याम्पस प्रमुखलाई राजिनामा गराउन दबाब आएको बिषयमा मौखिक गुनासो प्राप्त भएकाले स्टाफ बैठकमा सम्झाई बुझाई गरिएको बताउनुभयो । 
विश्व विद्यालयका रजिष्ट्रारको कार्यालयबाट प्रशासनिक कर्मचारीलाई लेखाको जिम्मेवारी दिन लिखित निर्देशन प्राप्त भएको क्याम्पस श्रोतले बताएको छ । झण्डै ६ बर्ष देखि लेखाको जिम्मेवारी निभाउदै आएका लेखाका कर्मचारीलाई जिम्मेवारविहीन बनाएर क्याम्पसमा कार्यरत प्रशासनिक तर्फका शाखा अधिकृत तुल्सीप्रसाद ओझालाई लेखाको जिम्मेवारी दिन लिखित निर्देशन आएको हो । प्रशासनिक कर्मचारीलाई लेखाको जिम्मा दिदा कार्यसम्पादन निकै असहज भइरहेको क्याम्पस प्रशासनले जनाएको छ । लेखा सम्बन्धी अनुभव नभएका ब्यक्तिलाई कार्य जिम्मेवारी दिँदा हाल क्याम्पसको कार्यसम्पादन प्रभावित भइरहेको क्याम्पसमा अध्ययनरत विद्यार्थीहरु बताउछन् ।