ताजा खाबर :

News

सुप विश्वविद्यालयका रजिष्ट्रारको पुत्ला दहन

  • तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम
  • सात दिनभित्रै नयाँ रजिष्ट्रार पठाउन सरकारसँग माग 
 
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ५ जेठ
कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरुले पदीय मर्यादा विपरित सत्तारुढ नेकपा एमालेको गुणगान गाउँदै आएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको पुत्ला दहन गरेका छन् । 
नेपाली काँग्रेस निकट नेवि संघ, एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारी, विप्लव माओवादी निकट अखिल क्रान्तिकारी, राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौं र नयाँ शक्ति नेपाल विद्यार्थी यूनियनले विश्वविद्यालयको कार्यालय परिसरभित्र रजिष्ट्रार भट्टको पुत्ला दहन गरेका हुन् । विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले रजिष्ट्रार भट्टलाई नैतिकताका आधारमा तीन दिनभित्र राजीनामा दिन अल्टिमेटम दिएका छन् । 
उनीहरुले विश्वविद्यालयका कुलपति प्रधानमन्त्री केपी ओली र सहकुलपति शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई उपकुलपति श्रेष्ठ मार्फत ज्ञापन पत्र बुझाउँदै सात दिनभित्र नयाँ रजिष्ट्रार नियुक्त गर्नपनि माग गरेका छन् । विद्यार्थी संगठनहरुले रजिष्ट्रारको कार्यालयमा अनिश्चितकालिन तालाबन्दी पनि गरेका छन् । रजिष्ट्रार भट्टले पदीय मर्यादा विपरित सामाजिक सञ्जालमा एमालेको गुणगान गाउँदै आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरेपछि पाँच वटै विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । 
वर्तमान सरकार ढाल्ने प्रतिपक्षी नेपाली काँग्रेसको प्रयास असफल भएपछि रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा आक्रामक रुपमा सत्तासाझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवालाई हेपेर स्टाटस् पोष्ट र ट्वीट गर्नुभएको छ । उहाँले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई नक्कली क्रान्तिकारीको संज्ञा दिनुभएको छ ।