ताजा खाबर :

News

रजिष्ट्रार भट्टको पुत्ला दहनप्रति अनेरास्ववियुको आपत्ति

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ६ जेठ 
कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरुले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको पुत्ला दहन गरेकोप्रति नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले आपत्ति जनाएको छ । केही व्यक्तिहरुको स्वार्थ पूर्ति नभएपछि नियोजित रुपमा विश्वविद्यालय हाताभित्रै रजिष्ट्रार जस्तो गरिमामय पदमा आसिन व्यक्तिको पुत्ला दहन गरेको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियुका जिल्ला उपाध्यक्ष नरेशबहादुर सिँहले बिहीबार बिज्ञप्ती जारी गरेर विद्यार्थी आन्दोलनको बिराट इतिहास र लामो संघर्षद्वारा स्थापित विश्वविद्यालय दिनानुदिन राजनैतीक अराजकताको केन्द्रबिन्दु बन्दै गएको प्रति  दुःख व्यक्त गर्नुभएको छ । अनेरास्ववियुले विश्वविद्यालयका पदाधिकारीलाई विश्वविद्यालयको विकास र विस्तार एवम् गुणस्तरीय शिक्षा प्रदान गर्ने तर्फ ध्यान दिन आग्रह गरेको छ । विज्ञप्तीमा व्यक्तिले व्यक्तिका बारेमा टिप्पणी गर्दा आन्दोलनका नाममा अराजकता मच्चाउने कार्य तत्काल बन्द गर्नपनि भनिएको छ । 
यसअघि बुधबार कञ्चनपुरका पाँच विद्यार्थी संगठनहरुले पदीय मर्यादा विपरित सत्तारुढ नेकपा एमालेको गुणगान गाउँदै आएका रजिष्ट्रार भट्टको विश्वविद्यालय परिसरमा पुत्ला दहन गरेका थिए । उनीहरुले विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठलाई ज्ञापन पत्र बुझाउँदै रजिष्ट्रार भट्टलाई नैतिकताका आधारमा तीन दिनभित्र राजीनामा दिन अल्टिमेटमसमेत दिएका छन् । 
यसैबीच रजिष्ट्रार भट्टको बचाउँमा लागेको अनेरास्ववियुले विश्वविद्यालयको संस्थागत विकास र विद्यार्थीको भविष्यसँग सिधा सरोकार राख्ने भनिएका विभिन्न पाँच बुँदे माग अघि सारेर उपकुलपतिको कार्यालय र परीक्षा नियन्त्रण कार्यालयमा तालाबन्दी गरेको छ ।