ताजा खाबर :

News

image not found

संगम हत्याकाण्डमा संलग्न चण्डीगढबाट पक्राउ

कञ्चनपुर प्रहरीले पुष्टि गर्न बाँकी

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, ११ जेठ
कञ्चनपुर सदरमुकाम महेन्द्रनगरको संगम होटलमा भएको हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय र क्षेत्रीय अनुसन्धान व्यूरो आरआईटीको संयुक्त टोलीले भारतीय सहरबाट ती व्यक्तिलाई पक्राउ गरेको हो । 
प्रहरीले संगम हत्याकाण्डमा संलग्न भएको दाबी गर्दै भारतीय सहर चन्डीगढ आसपासको क्षेत्रबाट एक जनालाई पक्राउ गरेर ल्याएको स्रोतले जनाएको छ । स्रोतले पक्राउ परेका व्यक्तिले दिएको बयानका आधारमा प्रहरीले महेन्द्रनगरको एेंठपुर क्षेत्रबाट हत्यामा प्रयोग भएको हतियारपनि बरामद गरिसकेको छ । हत्या आरोपमा पक्राउ परेका व्यक्ति यसअघि सोही होटलमा काम गरिसकेका  बोहरा थरका भएको स्रोतको दाबी छ । 
स्रोतका अनुसार पूर्व माओवादी लडाकु समेत रहेका ती व्यक्तिले घट्ना हुनु भन्दा केही दिन होटलबाट जागिर छाडेको र घट्ना अघि तीनै जना कामदारसँगै मदिरा सेवन गरेका थिए । उनलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयले एक जना प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोली भारत पठाएको थियो । उक्त टोलीले खटाइएको काममा सफलता हात पारेपछि चण्डीगढमा आफू सवार जीपमा तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेको थियो ।  
कञ्चनपुर प्रहरीले व्यक्ति पक्राउ बारे आधिकारिक जानकारी दिएको छैन् । कञ्चनपुरका प्रहरी प्रवक्ता केदार खनालले घुमाउरो पारामा एक जनालाई हत्या आशंकामा पक्राउ गरेको पुष्टि गर्दै अझै अनुसन्धान चलिरहेको जानकारी दिनुभयो । ‘यसबारेमा अहिले धेरै बोल्न मिल्दैन, हामी भेरीफाई गर्दैछौं ।’ उहाँले भन्नु भयो, ‘हामी चाँडै प्रेस मिट राख्छौं ।’
गत बैसाख २३ गते बिहीबार राति महेन्द्रनगरको गल्ली नम्बर २ स्थित संगम होटलमा कार्यरत ४५ वर्षिय किसनसिँह बिष्ट र २० वर्षिय भीम रोकायाको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको थियो । अर्का कामदार ४० वर्षिय पदमराज जोशी गम्भीर घाइते अवस्थामा फेला पर्नुभएको थियो । उहाँको प्रहरीको कडा सुरक्षा घेरामा कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।