ताजा खाबर :

News

बहुमुखी क्याम्पसमा तालाबन्दी नगर्ने पाँच विद्यार्थी संगठनको उद्घोष

 
विनय पन्त
महेन्द्रनगर, ११ जेठ
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय क्याम्पस सिद्धनाथका पाँच विद्यार्थी संगठनहरुले आगामी दिनमा कुनैपनि बहानामा क्याम्पस परिसरभित्र रहेका कार्यालयहरुमा तालाबन्दी नगर्ने सहमति गरेका छन् । 
विश्वविद्यालयको विद्यार्थी कल्याण समितिसँग मंगलबार बसेको संयुक्त बैठकमा पाँच विद्यार्थी संगठनहरुले आगामी दिनमा क्याम्पस परिसरभित्र रहेका कार्यालयहरुमा तालाबन्दी नगर्ने सहमति गरेका हुन् । उनीहरुले जुनसुकै विद्यार्थीको समुहले तालबन्दी गरेपनि क्याम्पस प्रशासनले खोल्न सक्नेपनि निर्णय गरेका छन् । बैठकले क्याम्पसमा आई पर्ने समस्या समाधानको पहलका लागि विद्यार्थी कल्याण समितिले प्रत्येक महिनाको शुक्रबार विद्यार्थी संगठनहरुसँग संयुक्त बैठक गर्नेपनि सहमति भएको छ ।
विद्यार्थी संगठनहरुले विद्यार्थी हकहितका लागि उठ्ने मागहरुलाई सबै विद्यार्थी संगठन, क्याम्पस प्रशासन र सम्बन्धित निकायसँग छलफल गरेर तत्काल समाधान गर्ने सहमति गरेको नेविसंघका विश्वविद्यालय कार्यबाहक अध्यक्ष अतुलबहादुर ऐरले बताउनुभयो । बैठकमा पाठ्यक्रम अनुसारका पाठ्यपुस्तक खरिदका लागि विभागिय प्रमुखहरुलाई सिफारिशका लागि पत्राचार गर्ने, पस्तकालय व्यवस्थित गर्न सिसिटिभीको व्यवस्था गरेर सम्बन्धित अधिकारीले अनुगमन गर्ने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकमा विद्यार्थी कल्याण समिति प्रमुख डम्बरसिँह ऐर तथा नेविसंघ, अनेरास्ववियु, प्रचण्ड र विप्लवपक्षीय अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी यूनियनका क्याम्पस र जिल्लास्तरीय नेताहरुको सहभागिता रहेको थियो ।