ताजा खाबर :

News

image not found

अनेरास्ववियुद्वारा नेविसंघका नेता बडूमाथि आक्रमण

 
  • आक्रमणको बिरोधमा विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी
  •  
    रजिष्ट्रार भट्टले राजीनामा नदिएसम्म तालबन्दी नखोलिने
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १४ जेठ
नेकपा एमालेको गुणगान गाउने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्टको बचाउ गर्दै आएको अनेरास्ववियु आन्दोलनरत विद्यार्थी संगठन विरुद्ध आक्रमणमा उत्रिएको छ । विश्वविद्यालयका उपकुलपति भुषण श्रेष्ठको रोहबरमा रजिष्ट्रार भट्टसहित आन्दोलनरत पाँच विद्यार्थी संगठनहरु छलफल गरिरहेका बेला अनेरास्ववियु आक्रमणमा उत्रिएको हो । 
अनेरास्ववियुले गरेको आक्रमणबाट नेविसंघका उपाध्यक्ष पुरोहित बडू गम्भीर घाइते हुनुभएको छ । उहाँलाई महाकाली अञ्चल अस्पतालले कोहलपुर मेडिकल कलेज रिफर गरेको छ । उपकुलपति श्रेष्ठको रोहबरमा रजिष्ट्रार भट्ट, आन्दोलनरत पाँच विद्यार्थी संगठन र अनेरास्ववियुका नेताहरुबीच छलफल चलिरहेका बेला बडूमाथि एकाएक आक्रमण गरिएको नेविसंघका अध्यक्ष अच्युतराज कलौनीले जानकारी दिनुभयो । उहाँले बडूमाथि अनेरास्ववियुका सहसचिव कमल रोकाया र अर्का विद्यार्थी नेता मदन चन्दले कुर्सीले आक्रमण गरेको बताउनुभयो । 
बैठकमा सहभागि रजिष्ट्रार विरुद्धको आन्दोलनमा सहभागि राष्ट्रिय जनमोर्चा निकट अखिल छैठौंका केन्द्रीय सदस्य महेश जोशीले बैठक सकारात्मक तिर गइरहेका बेला अनेरास्ववियु आक्रमणमा उत्रिएको बताउनुभयो । उहाँका अनुसार छलफलमा निकालिएको निचोडको माईन्युट गर्न मात्रै बाँकी रहेका बेला अनेरास्ववियुका नेताद्वय रोकाया र चन्दले नेविसंघका नेता बडूमाथि आक्रमण गरेका हुन् । केन्द्रीय सदस्य जोशीले रजिष्ट्रार भट्टले गल्ती स्वीकार गरेर आगामी दिनमा गल्ती नदोहोर्याउने प्रतिवद्धता जनाएको र आन्दोलनरत विद्यार्थीहरु आन्दोलन फिर्ता लिने सहमतिमा पुगेका बेला आक्रमण भएपछि छलफल बिना निष्कर्ष टुंगिएको जानकारी दिनुभयो । 
यसअघि आन्दोलनरत पाँच विद्यार्थी संगठनहरु र अनेरास्ववियुबीच उपकुलपति श्रेष्ठ र रजिष्ट्रार भट्टसँग छलफल गरेर विश्वविद्यालयमा पछिल्ला दिनमा सुरु भएको आन्दोलनलाई रोक्ने सहमति भएको बताइएको छ । रजिष्ट्रार भट्टले फेशबुकमा काँग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध गाली गलौच गरेको दाबी गर्दै पाँच विद्यार्थी संगठनहरु जेठ ४ आन्दोलनमा उत्रिएका थिए । त्यसको भोलीपल्ट रजिष्ट्रार भट्टको बचाउ गर्दै अनेरास्ववियुले उपकुलपति श्रेष्ठ विरुद्ध आन्दोलन सुरु गरेको थियो ।
आक्रमणको बिरोधमा विश्वविद्यालयमा अनिश्चितकालिन तालाबन्दी
नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको कार्यालय र केन्द्रीय क्याम्पस सिद्धनाथमा तालाबन्दी गरेको छ । नेकपा एमालेको भातृसंगठन अनेरास्ववियु आक्रमणमा उत्रिएपछि नेविसंघले आज दिउँसो विश्वविद्यालयको कार्यालय र केन्द्रीय क्याम्पस सिद्धनाथ परिसरमा रहेका कार्यालयहरुमा तालाबन्दी गरेको हो । 
जिल्ला उपाध्यक्ष पुरोहित बडूमाथि आक्रमण गर्नेमाथि कानुनी कारवाही र रजिष्ट्रार द्विजराज भट्टले राजीनामा नदिएसम्म अनिश्चितकालका लागि तालाबन्दी गरिएको नेविसंघका अध्यक्ष अच्युतराज कलौनीले जानकारी दिनुभएको छ । उहाँले षडयन्त्रपूर्वक रजिष्ट्रार भट्टले अनेरास्ववियुमार्फत नेविसंघ विरुद्ध आक्रमण गर्न लगाएको दाबी गर्दै रजिष्ट्रारको राजीनामा नआएसम्म आन्दोलन चर्काउँदै लगिने बताउनुभयो । नेविसंघको तालबन्दीका कारण सिद्धनाथ बहुमुखी क्याम्पसमा आज दिउँसो चल्ने कक्षाहरुको पठकपाठन अवरुद्ध भएको छ । 
यसैबीच अनेरास्ववियुले नेविसंघले उपकुलपतिको रोहबरमा छलफल चलिरहेका बेला नेविसंघले पहिले आक्रमण गरेको दाबी गरेका छ । अनेरास्ववियुका अध्यक्ष ओम बस्नेतले टेलिफोन कुराकानीमा नेविसंघको आक्रमणबाट आफ्नो संगठनका मदन चन्द घाइते भएको बताउनुभयो । उहाँले घाइते चन्दलाई उपचारका लागि भारतको खटिमा लगिएको प्रतिक्रिया दिनुभएको छ । उता नेविसंघले कानुनी कारवाहीबाट जोगाउन अनेरास्ववियुले चन्दलाई घाइते भएको बहानाबाजी गरेको बताएको छ । नेविसंघले चन्दले नै उपाध्यक्ष बडूमाथि कुर्सी प्रहार गरेको बताएको छ ।