ताजा खाबर :

News

image not found

रजिष्ट्रार भट्ट विरुद्ध साईबर क्राईम मुद्दा दर्ता गर्ने काँग्रेसको तयारी

  • प्रहरीले जाहेरी दर्ता नगरेसम्म वार्तामा बस्दैनौं : उपसभापति बोहरा 
  • नेविसंघको आन्दोलनमा भीमदत्त र बेदकोट नगर कार्य समितिको ऐक्यवद्धता 
  • आक्रमणकारी माथि कारवाही नभए कडा आन्दोलन : नेविसंघ केन्द्रीय कार्यालय   
कञ्चनपुर समाचार
महेन्द्रनगर, १५ जेठ
नेपाली काँग्रेसले आप्mना पार्टी सभापति शेरबहादुर देउवालाई सामाजिक सञ्जालमा गालीगलौज गर्ने सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार द्विजराज भट्ट विरुद्ध साईबर क्राईम अन्तरगत मुद्दा दर्ता गर्ने तयारी गरेको छ । 
नेकपा एमाले निकटको अनेरास्ववियुले विश्वविद्यालयमा छलफल चलिरहेका बेला नेविसंघका उपाध्यक्ष पुरोहित बडूमाथि सांघातिक आक्रमण गरेपछि काँग्रेसले रजिष्ट्रार भट्ट विरुद्ध साईबर क्राईम अन्तरगत मुद्दा दर्ता गर्ने तयारी गरेको हो । काँग्रेस कञ्चनपुरका उपसभापति हरिप्रसाद बोहराले रजिष्ट्रार भट्ट विरुद्ध साईबर क्राईम अन्तरगत मुद्दा दर्ता गर्ने विषयमा केन्द्रीय सदस्य रमेश लेखकले केन्द्रमा छलफल गरि रहनुभएको जानकारी दिनुभयो । 
उहाँले नेविसंघका उपाध्यक्ष बडूमाथि भएको आक्रमणको विषय किनारा लागेपछि रजिष्ट्रार भट्ट विरुद्ध साईबर क्राईम अन्तरगत मुद्दा दर्ता गरिने बताउनुभयो । रजिष्ट्रार भट्टले पदीय मर्यादा विपरित सामाजिक सञ्जालमा एमालेको गुणगान गाउँदै आपत्तिजनक अभिव्यक्ति सार्वजनिक गरेपछि नेविसंघ अन्य तीन विद्यार्थी संगठनसँगको सहकार्यमा आन्दोलन गरिरहेको छ । वर्तमान सरकार ढाल्ने प्रतिपक्षी काँग्रेसको प्रयास असफल भएपछि रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा आक्रामक रुपमा सत्तासाझेदार एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रतिपक्षी काँग्रेस सभापति शेरबहादुर देउवालाई हेपेर स्टाटस् पोष्ट र ट्वीट गर्नुभएको थियो । उहाँले काँग्रेस सभापति देउवालाई भारतीय दलाल र एकीकृत माओवादी अध्यक्ष प्रचण्डलाई नक्कली क्रान्तिकारीको संज्ञा दिनुभएको छ । 
काँग्रेस कञ्चनपुरले नेविसंघका उपाध्यक्ष बडूमाथि आक्रमण गर्ने अनेरास्ववियुका नेताहरु विरुद्ध जाहेरी दर्ता नभएसम्म स्थानीय प्रशासनसँग कुनै छलफल नगर्ने बताएको छ । विश्वविद्यालयमा सिर्जना भएको तनाव वार्ताका माध्यमबाट मत्थर पार्न स्थानीय प्रशासनले गरेको आग्रहलाई काँग्रेसले अस्वीकार गरेको छ । प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले विश्वविद्यालयमा सिर्जना भएको तनाव समाधान गर्न वार्ताका लागि बोलाएपनि आफूहरुले अस्वीकार गरेको उपसभापति बोहराले बताउनुभयो । उहाँले विद्यार्थी नेता बडूमाथि आक्रमण गर्ने बिरुद्ध प्रहरीले किटानी जाहेरी गरेर उपचारका सम्पूर्ण जिम्मेवारी नलिएसम्म वार्तामा नबस्ने बताउनुभयो । 
शुक्रबार विश्वविद्यालयका उपकुलपति भूषण श्रेष्ठको रोहबरमा रजिष्ट्रार भट्ट, आन्दोलनरत चार विद्यार्थी संगठन र अनेरास्ववियुबीच वार्ता चलिरहेका बेला नविसंघका उपाध्यक्ष बडूमाथि आक्रमण गरिएको थियो । उहाँमाथि अनेरास्ववियुका नेताहरु मदन चन्द र कमल रोकायाले आक्रमण गरेको नेविसंघले जनाएको छ । घाइते बडूको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ ।   
यसैबीच नेविसंघको आन्दोलमा उसको माउ पार्टी नेपाली काँग्रेसको भीमदत्त र बेदकोट नगर कार्य समितिले ऐक्यवद्धता जनाएको छ । दुबै नगरपालिकाका कार्य समितिले आज छुट्टाछुट्टै बिज्ञप्ती जारी गरेर नेविसंघको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । भीमदत्त र बेदकोट नगर कार्य समितिले नेविसंघका उपाध्यक्ष बडूमाथि भएको आक्रमणको भत्र्सना गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् । भीमदत्तका सभापति पदमराज अवस्थी र सचिव उमेश जोशी तथा बेदकोटका सचिव दिलबहादुर कुँवरद्वारा हस्ताक्षरित विज्ञप्तीमा विश्वविद्यालयका रजिष्ट्रार भट्टले सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिको आपत्ति जनाइएको छ । 
त्यस्तै नेविसंघका केन्द्रीय कार्यालयले सुनियोजित रुपमा रजिष्ट्रार भट्टले अनेरास्ववियुका नाममा १५–२० गुण्डा प्रवेश गराएर नेविसंघमाथि हमला गरेको दाबी गरेको छ । केन्द्रीय कार्यालयले बिज्ञप्ती जारी गरेर घट्नामा प्रत्यक्ष संलग्न रजिष्ट्रार र अनेरास्ववियु निकट ‘गुण्डा’माथि कारवाहीको माग गरेको छ । केन्द्रीय सदस्य बिष्णुदत्त जोशीद्वारा हस्ताक्षरित विज्ञप्तीमा आक्रमणमा संलग्नमाथिको कारवाही ढिला सुस्ती भए आन्दोलनलाई जोडदार ढंगले अघि बढाईने चेतावनी दिइएको छ ।