ताजा खाबर :

News

प्रहरी निरीक्षकमाथि आक्रमण !

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १९ जेठ
आपराधिक क्रियाकलापमा संलग्न समुहले ईलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक बिरेन्द्रबिर विश्वकर्मामाथि आक्रमण गरेको छ । दोधारा–चाँदनी नगरपालिका–८ सुन्दरनगरमा आपराधिक समुहले प्रहरी निरीक्षक विश्वकर्मा र प्रहरी जवान गगन ढुंगालमाथि आक्रमण गरेको हो । 
जोगबुढा नदी पारिको गाउँ सुन्दरनगरबाट मानव बेचबिखन मुद्दाका फरार अभियुक्त बीरबहादुर सुनारलाई पक्राउ गरेर ल्याउँदै गर्दा प्रहरी निरीक्षक बिश्वकर्मामाथि मंगलबार अपरान्ह आक्रमण भएको बताइएको छ । उहाँमाथि आक्रमण गरेर उक्त समुहले अभियुक्त सुनारलाई प्रहरी नियन्त्रणबाट मुक्त गराएर भारत पठाएको छ । २०६६ साल माघ १७ देखि मानव बेचबिखन मुद्दामा सजाय तोकिएका फरार अभियुक्त सुनार एक महिना अघि मात्रै दोधारा–चाँदनी फर्केको बताइएको छ । 
प्रहरी टोली आफूलाई पक्राउ गर्न आएको थाहा पाउने बित्तिकै भागेका सुनारलाई प्रहरी निरीक्षक विश्वकर्माले भारत–नेपाल सीमा क्षेत्रबाट पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न प्रहरीले एक राउण्ड हवाईफायर समेत गरेको स्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक केदार खनालले प्रहरी निरीक्षक बिश्वकर्मामाथि एक समुहले आक्रमण गरेर पक्राउ परेका अभियुक्तलाई भगाएको बताउँदै आफू घट्नास्थलतर्फ जाँदै गरेको बताउनुभयो । 
प्रहरी निरीक्षक बिश्कर्मा ईलाका प्रहरी कार्यालयमा आए देखि सुरक्षा ब्यवस्था मजबुद बन्दै आएको स्थानीयहरुको दाबी छ । बिश्कर्माले आपराधिक क्रियाकलापमा संलग्न फरार अभियुक्तको फाईल खोल्न थालेपछि दोधारा–चाँदनीका स्थानीय बासिन्दामा खुशीयाली छाएको छ ।