ताजा खाबर :

News

image not found

राष्ट्रिय सम्मानका साथ गोविन्द गौतमको अन्त्येष्टि

पिता खेमलालले दाग बत्ती दिए 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २९ फागुन
भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली हानी हत्या गरेका नेपाली गौविन्द गौतमको राष्ट्रिय सम्मानका साथ अन्त्योष्टि गरिएको छ । कञ्चनपुरको दोदा नदी किनारमा गौतमको पार्थिव शरीरमा उनका पिता ७२ बर्षीय खेमलाल गौतमले दागबत्ती दिएका हुँन । गौतमको अन्त्येष्टी कार्यक्रममा कैलाली र कञ्चनपुरका हजारौं नागरिकले स्वतः स्फुर्त सहभागिता जनाएका थिए । यसअघि धनगढीस्थित सेती अञ्चल अस्पतालबाट उनको शवयात्रा निकालिएको थियो । होली नमनाउने घोषणा गर्दै कैलाली र कञ्चनपुरका हजारौंले शवयात्रामा सहभागिता जनाएका थिए । 
सरकारले शहीद घोषणा गरिसकेका गौतमको सम्मानमा नेपाल प्रहरीले ११ तोपको सलामी दिएको थियो ।
उनको शवयात्रा धनगढी, डोकेबजार, चौराहा, त्रिनगर भन्सार हुँदै दोदा लगिएको थियो । उनको शव गृहनगर पुनर्वासमा श्रद्धाञ्जलिका लागि केहिबेर राखिने भनिएपनि समयअभावका कारण सीधै दोदा नदी किनार लगिएको थियो । 
राष्ट्रिय सम्मानका साथ उनको अन्त्यष्टि गर्ने बताइएको भए पनि शवयात्रामा कुनै पार्टीका शीर्ष नेता सहभागी भएका थिएनन् । कैलालीको सेती अञ्चल अस्पतालबाट दिउँसो एक बजे शवयात्रा सुरु गरिएको थियो । गौतमको कञ्चनपुरको दोदा नदीमा अन्त्येष्टि गरीएको छ ।
बिहान ८ बजे नै शवयात्रा सुरु गर्ने बताइएको भएपनि आवश्यक तयारी नभएका कारण दिउँसो मात्रै शवयात्रा सुरु भएको थियो । राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भनिए पनि सोही अनुसार कुनै तयारी नगरेको भन्दै स्थानीय युवाहरु आक्रोशित भएका थिए । आक्रोशित युवाले कैलाली बजार बन्द गराउँनुका साथै तोडफोड समेत गरेका छन् ।
विरोधपछि स्थानीय प्रशासनले गाडीलगायत राष्ट्रिय सम्मानका लागि आवश्यक तयारी गरी शवयात्रा सुरु गरेको हो । शवयात्रामा हजारौंको संख्यामा स्थानीयहरु सहभागी भएका थिए । होलीका सबै कार्यक्रम स्थगीत गरी स्थानीय शवयात्रामा सहभागी भएका हुन । कार्यक्रममा सशस्त्र र जनपद दुवै प्रहरीका डिएसपीको उपस्थिति रहेको थियो । गौतमलाई ११ जना प्रहरीले सलामी दिएको थियो ।