ताजा खाबर :

News

image not found

अत्तरियामा काँग्रेसको प्रदेश स्तरीय चुनावी आमसभा

दमन चन्द
महेन्द्रनगर, २६ चैत 
स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेपाली काँग्रेसले भोली कैलालीको अत्तरियामा बृहद चुनावी आमसभा आयोजना गरेको छ । बैसाख ३१ गते हुने भनिएको चुनावलाई लक्षित गरेर काँग्रेसले भोली प्रदेश नम्बर ७ स्तरीय चुनावी आमसभा आयोजना गरेको हो ।
चुनावी आमसभालाई पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ । चुनावी सभामा ७ नम्बर प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडू, एनपी सावद, रमेश लेखक, बिरबहादुर महरा, ईश्वरी न्यौपानेसँगै यस क्षेत्रका सम्पूर्ण साँसदहरुको पनि उपस्थिति रहने काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिनुभयो । भोली बिहान ११ वजे अत्तरियामा सुरु हुने चुनावी सभामा कञ्चनपुरबाट १५ हजार मतदाता सहभागि गराईने उहाँले बताउनुभयो ।
काँग्रेसले आमसभामा सात नम्बर प्रदेशका सबै जिल्लाबाट झण्डै ७० हजार नागरिकको सहभागिता रहने अनुमान गरेको । भोली हुने आमसभाको सम्पूर्ण तयारी पूरा भइसकेको काँग्रेसको अत्तरिया नगर समितिका अध्यक्ष हेमप्रकाश उप्रेतीले जानकारी दिनुभएको छ । अत्तरियाको लामीताल परिसरमा हुने सभाका लागि अत्तरियाको चारै दिशामा चार वटा प्रवेशद्वार बनाइएको छ भने अत्तरिया चोकलाई काँग्रेसको चार तारे झण्डा, चुनाव चिन्ह रुख तथा ध्वजापताकाले बेहुली झै सिँगारिएको छ । काँग्रेस कञ्चनपुरले चार वटा विभिन्न उपसमिति गठन गरेर आमसभालाई सफल पार्न तयारी गरिरहेको छ ।
स्थानीय तहको निर्वाचनमा मतदाता रिझाउन काँग्रेसले चैत २८ गते दाङ, २९ गते रुपन्देही, ३० गते पोखरा, ३१ गते धनुषा र बैसाख २ गते झापामा आमसभा गर्ने निर्णय यसअघि नै गरेको थियो ।