ताजा खाबर :

News

image not found

‘पार्टीलाई आवश्यक परेको बेला काम नलाग्ने कार्यकर्ताको काम छैन्’

 
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २८ चैत
नेपाली काँग्रेस कञ्चनपुरले स्थानीय तह निर्वाचनका लागि मापदण्ड तयार गरेर उम्मेदवार छनौट गर्ने भएको छ । आगामी बैसाख ३१ गते हुन गइरहेको निर्वाचनका लागि उम्मेदवार छनौट गर्न काँग्रेस कञ्चनपुरले मापदण्ड बनाएको छ । 
काँग्रेसका जिल्ला सभापति हरिप्रसाद बोहराले उम्मेदवारका आकांक्षी धरै देखिएकाले उपयुक्त आकांक्षीलाई उम्मेदवारको टिकट दिन मापदण्ड बनाइएको जानकारी दिनुभयो । पार्टीमा लामो समयदेखि पूर्याएको योगदान, मतदाता माझको लोकप्रियता र चुनाव जितिसकेपछि कार्य सम्पादन गर्ने क्षमताका आधारमा आकांक्षीलाई टिकट वितरण गरिने उहाँले बताउनुभयो । 
काँग्रेसभित्र कार्यकर्ताहरुबाटै हुन सक्ने अन्तरघात रोक्न पार्टीले चुनावमा असहयोग गर्ने नेता कार्यकर्तालाई कारवाही गर्ने चेतावनी दिएको छ । ‘चुनावमा असहयोग गर्ने नेता–कार्यकर्तालाई पार्टीमा कहिल्यै रिटर्न नहुने कारवाही गर्छौ ।’ उहाँले भन्नुभयो, ‘पार्टीलाई आवश्यक परेका बेला काम नलाग्ने, काम नभएको बेला पार्टीमा भइरहने कार्यकर्ताको काम छैन् ।’ 
पार्टीले चुनावका लागि टिकट दिएका उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिने तथा असहयोग गर्ने पार्टीका क्रियाशिल कार्यकर्ता, पार्टीका भातृ तथा शुभेच्छुक संस्थामा आवद्ध व्यक्तिलाई आजिवन पार्टीमा फर्किन नपाउने गरी कारवाही गर्न केन्द्रबाट सर्कुलर भएको काँग्रेस कञ्चनपुरले जनाएको छ । सर्कुलर बमोजिम काम गर्न सकिए पार्टीलाई सिष्टममा लैजान सकिने सभापति बोहराको भनाई छ ।
काँग्रेस कञ्चनपुरले वडास्तरमा चुनाव लड्ने आकांक्षीको नाम आजसम्म क्षेत्रीय कार्य समितिलाई बुझाउन वडा कार्य समितिहरुलाई निर्देशन दिएको थियो । सात वटा नगरपालिकामा पार्टीका तर्फबाट नगर प्रमुख र उपप्रमुखका उम्मेदवारको नाम बैसाख ५ गतेसम्म क्षेत्रीय कार्य समितिहरुमा सिफारिश गर्न नगर कार्यसमितिलाई भनिएको सभापति बोहराले जानकारी दिनुभएको छ ।