ताजा खाबर :

News

image not found

कञ्चनपुरको आनन्द बजार क्षेत्रको सीमा विवाद समाधान गर्न दुवै देश सहमत

सीमास्तम्भ नम्बर ७७०÷२ देखि ७७८÷१ सम्म हराएका सीमा स्तम्भको स्थान पहिचान गरिने 
केशव सावद
महेन्द्रनगर, ३० चैत
नेपाल–भारत कञ्चनपुरको पुनर्वास नगरपालिका अन्तरगत पर्ने आनन्द बजार क्षेत्रमा देखिएको सीमा विवाद मिलाउन सहमत भएका छन् । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आज बसेको नेपाल–भारत सीमा सर्भे टिमको बैठकले आनन्द बजार क्षेत्रमा देखिएको सीमा विवाद समाधान गर्ने सहमति गरेको हो । 
बैठकमा नेपालको नेतृत्व कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनाल र भारतीय पक्षको नेतृत्व उत्तर प्रदेशको लखिमपुर खिरीका डिष्ट्रिक मजिष्ट्रेट आकाश दिपले गर्नुभएको थियो । संयुक्त बैठक पछि प्रमुख जिल्ला अधिकारी खनालले आनन्द बजार क्षेत्र नजिकै सीमा छुट्याउने सीमा स्तम्भ रहेको स्थानको पहिचान गर्ने र सीमा विवाद अन्त्य गर्ने जानकारी दिनुभयो । उहाँले सीमास्तम्भ नम्बर ७७०÷२ देखि ७७८÷१ सम्म हराएका सीमा स्तम्भको स्थान पहिचान गर्ने सहमति भएको बताउनुभयो । उहाँका अनुसार जोडा नम्बर भएका सीमास्तम्भको पहिचान र मर्मत सम्भार भारतीय पक्ष र बिजोडा नम्बर भएका सीमा स्तम्भको पहिचान र मर्मत सम्भार नेपाली पक्षले गर्ने छ । ‘सीमास्तम्भ पहिचानका क्रममा दुवै देशले सुरक्षा दिने भनिएको छ ।’ उहाँले भन्नुभयो । 
दुबै देशले उक्त क्षेत्रमा चैत २८ गतेबाट संयुक्त रुपमा सुरु गरेको सीमास्तम्भ पहिचानको कामलाई बैठकले औपचारिक रुपमा अनुमोदन गरेको प्रमुख जिल्ला अधिकारी खनालले बताउनुभयो । यस्तै भारतको उत्तर प्रदेश अन्तरगत पर्ने लखिमपुर खिरीका डिष्ट्रिक मजिष्ट्रेट दिपले हराएका सीमास्तम्भ पहिचान गरी आनन्द बजार क्षेत्रमा देखिएका विवाद समाधान गरिने र आगामी दिनमा उक्त क्षेत्रमा सीमा विवाद नहुने प्रतिक्रिया दिनुभयो । 
कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी खनालले सीमास्तम्भ पहिचानको भारतीय पक्षबाट लखिमपुरका मजिष्ट्रेट आकाश दिप र नेपालका तर्फबाट आफुले अनुगमन गर्ने बताउनुभयो । सीमास्तम्भ पहिचान गर्ने निर्णय गर्नु अघि कैलाली र कञ्चनपुरका सभासद्हरु र कञ्चनपुरका सबै राजनीतिक दलहरुसँग छुट्टाछुट्टै छलफल गरेको उहाँले जानकारी दिनुभयो ।