ताजा खाबर :

News

image not found

कसलाई दिने टिकट !

कञ्चनपुरका ठूला दललाई उम्मेदवार छान्न टाउको दुःखाई 
-केशव सावद
महेन्द्रनगर, १ बैसाख 
कञ्चनपुरमा स्थानीय तहको निर्वाचनका लागि राजनीतिक दलहरुलाई उम्मेदवार छान्न सकस परेको छ । आकाक्षी धेरै भएकाले उनीहरुलाई नाम छान्न सकस परेको हो । यसअघि जिल्लामा प्रमुख राजनीतिक दलका नेताले चैतको अन्त्य तिर उम्मेदवार तय गरिसक्ने बताएका थिए । तर चैतको मसान्तसम्म पनि उनीहरुले कुनै पनि स्थानीय तहमा उम्मेदवार तय गर्न सकेका छैनन् । 
नेपाली काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले चैत २७ गते अत्तरियामा भएको पार्टीको चुनावी आमसभाको तयारी गर्नु परेका कारण केही ढिलाई भएको बताए । उनले उम्मेदवारको चाहना बुझ्ने काम भइरहेको भन्दै महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर र पुनर्वास नगरपालिकाका केही वडामा सर्वसम्मत उम्मेदवार छनोट भएको जानकारी दिए । 
सभापति बोहराका अनुसार काँग्रेसले बेदकोटका ४, शुक्लाफाँटाका २, महाकालीका २ र पुनर्वास नगरपालिकाको एउटा वडामा सर्वसम्मत रुपले उम्मेदवार चयन गरेको छ । बैसाख ५ गते क्षेत्रले टुङ्ग्याएर ७ गते जिल्लाले केन्द्रमा उम्मेदवारको सिफारिस गर्ने उनको भनाई छ । काँग्रेसमा नगर प्रमुख र उपप्रमुखमा आकांक्षी धेरै भएकाले समस्या परेको स्रोतले बतायो । 
नेकपा एमाले कञ्चनपुरमा चुनावी माहोल तातेपनि उम्मेदवार छान्न त्यस्तै सकस परेको छ । एमाले कञ्चनपुरका अध्यक्ष तारालामा तामाङले अहिलेसम्म स्थानीय तहका लागि सर्वसम्मत उम्मेदवारको चयन बारे जिल्लामा एकिन डाटा प्राप्त नभएको प्रतिक्रिया दिए । ‘स्थानीय निकायमा सर्वसम्मत उम्मेदवार चयन बारे जिल्लामा केही जानकारी आएको छैन् ।’ उनले भने, ‘बैसाख ३ गतेसम्म एकिन डाटा आई पुग्छ ।’ अध्यक्ष लामाले बैसाख ४ गते नगरपालिका र गाउँपालिका स्तरीय कमिटिले उम्मेदवारहरुको नामावली जिल्लामा सिफारिश गर्ने जानकारी दिए । 
नेकपा माओवादी केन्द्र कञ्चनपुरले चैत तेस्रो साताभित्रै उम्मेदवारको टुंगो लगाउने बताएपनि अहिलेसम्म आधिकारिक रुपमा उम्मेदवार छनौट गर्न सकेको छैन् । माओवादी केन्द्रको महाधिवेशन आयोजक कमिटि सदस्य राधाकृष्ण जोशी ‘ज्वाला’ले बैसाख ५ गतेभित्रै सबै उम्मेदवारको टुंगो लागि सक्ने दाबी गरे । ‘अन्य पार्टीका जस्तो माओवादीमा उम्मेदवारका विषयमा गञ्जागोल छैन् ।’ उनले भने, ‘हरेक क्षेत्रमा चुनाव लड्ने उम्मेदवारको टुंगो लागि सकेको छ, अव आधिकारीक निर्णय गर्न मात्रै बाँकी छ ।’ माओवादी बैसाख ५ गते उम्मेदवारहरुको बारेमा आधिकारीक निर्णय गर्ने महाधिवेशन आयोजक कमिटि सदस्य ज्वालाले जानकारी दिए । 
राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत आफ्नो उम्मेदवार छान्ने प्रक्रिया तीव्र पारेको छ । जिल्ला अध्यक्ष पूर्णबहादुर चन्दले उम्मेदवार छनोट प्रक्रिया करिब अन्तिम चरणमा पु¥याएको बताए । तर राप्रपाले पनि वडाको समेत कुनै निर्णय गर्न सकेको छैन । अध्यक्ष चन्दले बैसाख ४ गते महेन्द्रनगरमा हुन गइरहेको अञ्चल स्तरीय चुनावी आमसभाको तयारीका कारण उम्मेदवार चयन प्रक्रियामा ढिलाई भएको प्रतिक्रिया दिए । 
‘महेन्द्रनगरमा केन्द्रीय नेताहरुको उपस्थितिमा हुने आमसभाको तयारीमा जुट्न परेकाले केही ढिलाई भएको हो ।’ उनले भने । अध्यक्ष चन्का अनुसार राप्रपाले बैसाख ७ गतेसम्म नौ वटै स्थानीय तहका लागि उम्मेदवार चयन गर्ने भएको छ । कञ्चनपुरमा भीमदत्त, महाकाली, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी र पुनर्वास नगरपालिका तथा लाल्झाडी र बेल्डाँडी गाउँपालिका छन् ।