ताजा खाबर :

News

image not found

एमाले कञ्चनपुरद्वारा मेयर पदमा उम्मेदवारका आकांक्षीको नाम सिफारिश

-माओवादीले दुई नगरपालिकामा टुंग्यायो
-काँग्रेसलाई अझै हम्मेहम्मे
सुरेश पन्त
महेन्द्रनगर, ९ बैसाख 
आशन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले कञ्चनपुरले नौ वटै स्थानीय तहका लागि प्रमुख पदमा उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिश गरेको छ । एमाले कञ्चनपुरले आज सात नगरपालिका र दुई गाउँपालिकाका प्रमुखका लागि दुई–दुई जनाको नाम प्रदेश कमिटिलाई सिफारिश गरेको हो । 
एमाले निकट स्रोतका अनुसार पार्टीबाट भीमदत्त नगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि जिल्ला सचिव सुरेन्द्र विष्ट र लेखा समिति सदस्य ईश्वरी खरेलको नाम सिफारिश गरेको छ । भीमदत्त नगरपालिकाको प्रमुखका लागि इच्छा राखेका हरिप्रसाद जोशी र प्रकाश रावल र लिलाध्वज बस्नेतको नाममा सहमति जुटाउने गर्ने जिम्मा प्रदेश कमिटिलाई छोडिदिएको छ । एमाले कञ्चनपुरले महाकाली नगरपालिकाबाट राजिव खड्का, किशोर लिम्बु र महिला नेतृ चिनी गिरी, बेदकोट नगरपालिकाबाट लालबहादुर खड्का, अशोक चन्द र रामचन्द्र रेग्मीको नाम सिफारिश गरेको छ । 
शुक्लाफाँटा नगरपालिकाको प्रमुखकालागि रणबहादुर महरा र बिष्णु जोशी, कृष्णपुर नगरपालिकाका लागि लोकेन्द्र पन्त र कर्ण हमाल तथा पुनर्वास नगरपालिकाका लागि फैरु तामाङ र जीवन थापाको नाम सिफारिश भएको एमाले सं्रोतले जनाएको छ । यसैगरी एमाले कञ्चनपुरले बेलौरी नगरपालिकाबाट यज्ञ कँडेल र पल्ललवराज भट्ट, लालझाडी गाउँपालिकाबाट डिट्ठा राना र निर्मल राना तथा बेल्डाँडी गाउँपालिकाबाट धनबहादुर थापा, लालबहादुर रावत र लक्ष्मण भाटको नाम प्रदेश कमिटिमा सिफारिश गरेको छ । 
यसैबीच सत्तारुढ नेकपा माओवादी केन्द्रले दुई नगरपालिकामा मेयर पदको उम्मेदवारी तय गरेको छ । माओवादीले कृष्णपुरमा जोगराज चौधरी र पुनर्वासमा बिरबहादुर थापा पातालको नाममा सहमति गरेको माओवादीले जनाएको छ । 
माओवादीले अन्य पाँच नगरपालिका र दुई गाउँपालिकाको उम्मेदवारको टुंगो एक–दुई दिनमै लगाउने बताइएको छ । तर यसअघि माओवादीका केन्द्रीय सदस्य गोपाल रसायलीले आज देशैभरी एक साथ उम्मेदवारको नाम सार्वजनिक गरिने बताउनुभएको थियो । सत्ता साझेदार नेपाली काँग्रेसले भने कुनैपनि स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । 
उम्मेदवारका आकांक्षी धेरै देखिएका कारण काँग्रेस कञ्चनपुरलाई उम्मेदवारको टुंंगो लगाउन हम्मेहम्मे परेको छ । कञ्चनपुरमा उम्मेदवारी सहमतिमै टुंग्याउन केन्द्रीय सदस्यद्वय एनपी सावद र रमेश लेखक आकांक्षीहरुबीच छलफल चलाई राख्नुभएको छ ।