ताजा खाबर :

News

image not found

कञ्चनपुरको झण्डै १२ हजार हेक्टर वन क्षेत्रमा डढेलो

 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २१ बैसाख 
जिल्ला वन कार्यालयले कञ्चनपुरका बिभिन्न जंगलहरुमा लागेको डढेलोका कारण झण्डै १२ हजार हेक्टर वन क्षेत्र प्रभावित भएको जनाएको छ । वन कार्यालयले बिहीबार बिहान महेन्द्रनगरमा आयोजित वन डढेलो नियन्त्रण सम्बन्धि गोष्ठिमा अहिलेसम्म कञ्चनपुरमा १२ हजार हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको जनाएको हो । 
जिल्ला वन अधिकृत शिवप्रसाद शर्माले प्रकृतिक, मानवीय र स्थानीय वासिन्दाको लापरवाहीका कारण विभिन्न जंगलहरुमा डढेलो लागेको बताउनुभयो । यद्यपी जंगलहरुमा लागेको डढेलो अहिले पूर्ण रुपमा नियन्त्रणमा आइसकेको उहाँका भनाई छ । वन अधिकृत शर्माका अनुसार ब्रम्हदेव क्षेत्रमा ५० हेक्टर, बेदकोट क्षेत्रमा १५ हेक्टर, झलारी बजारको उत्तरमा पर्ने धारापानी क्षेत्रमा ३५ हेक्टर, कृष्णपुरमा ४० हेक्टर, पिपलाडी क्षेत्रमा ६६ हेक्टर, लालझाडी वनमा एक हजार हेक्टर र राजमार्ग छेउछाउमा पर्ने जंगलमा २० हेक्टर वन क्षेत्र डढेलोको चपेटामा परेको हो । गत वर्ष कञ्चनपुरमा झण्डै १३ हजार हेक्टर वन क्षेत्रमा डढेलो लाग्दा आठ वटा सालका र दुई वटा अन्य प्रजातिका रुखहरु पूर्ण रुपमा नष्ट भएका र जंगलको डढेलो नजिकैको बस्तीमा पस्दा साविकको रैकवार बिचवा गाविसमा सात घर गोठ जलेका थिए । 
वन कार्यालयले वन डढेलो सञ्जालहरु गठन गरेर जंगल छेउछाउका बासिन्दाहरुको सहयोगमा वन जंगलमा विभिन्न कारणले लाग्ने डढेलो नियन्त्रण गर्ने प्रयास गरिरहेको वन अधिकृत शर्माले जानकारी दिनुभयो । वन कार्यालयले लालझाडी संरक्षित वन क्षेत्र, बस्तीसँग जोडिएको लालझाडी क्षेत्र, ब्रम्हदेवदेखि दैजीसम्मको चुरे क्षेत्र र चुरेको तल्लो क्षेत्रमा पर्ने भावर वन क्षेत्रलाई डढेलो संवेदनशिल वन क्षेत्रका रुपमा रहेको जनाएको छ । कञ्चनपुरको कुल क्षेत्रफलमध्ये ८८ हेक्टर दुई सय हेक्टर वन क्षेत्रले ओगटेको छ ।