ताजा खाबर :

News

image not found

आचारसंहता उल्लंघन गर्दै कञ्चनपुरका दलहरु प्रचार प्रसारमा व्यस्त

आचारसंहिता उल्लंघन बारे मुख्य निर्वाचन अधिकृतको कार्यालय अनभिज्ञ
केशव सावद
महेन्द्रनगर, १२ जेठ
दोस्रो चरणको निर्वाचन नजिकिएसँगै कञ्चनपुरका राजनीतिक दलहरु प्रचार प्रसारमा व्यस्त छन् । उनीहरुले प्रचारप्रसारका क्रममा निर्वाचन आचारसंहिता नै उल्लंघन गरिरहेको पाइएको छ । राजनीतिक दलहरुले सदरमुकाम महेन्द्रनगरका विभिन्न सार्वजनिक स्थलहरुमा पार्टीको चुनाव प्रचार प्रसार सामग्री राखेका छन् । 
निर्वाचन आचार संहिता २०७२ दफा ४ को (झ) मा उल्लेख भएअनुसार निर्वाचन प्रचारका लागि दलहरुले सार्वजनिक, धार्मिक, ऐतिहासिक, संस्कृति पुरातात्विक स्थल, सार्वजनिक सडक, खम्बा आदिमा चुनाव प्रचारप्रसार सामग्री राख्न नपाइने उल्लेख छ । तर दलहरुले आचारसंहिता उल्लंघन गर्दै चुनाव प्रचारप्रसार सामग्री सहित बिजुलीका खम्बाहरुमा पार्टीको झण्डा राखेका छन् । उनीहरुले महेन्द्रनगर क्षेत्रमा सञ्चालन हुने विद्युतीय रिक्सा लगायतका सार्वजनिक सवारीका साधनहरुमा समेत प्रचार सामग्रीहरु राख्दै आएका छन् । 
सार्वजनिक स्थललाई दलहरुले प्रचार गर्ने स्थान बनाएर आचारसंहिता उल्लंघन गरेको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले अनभिज्ञता प्रकट गरेको छ । मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले कञ्चनपुरमा राजनीतिक दलहरुले आचार संहिता उल्लंघन गरेको बारे कुनै सूचना र उजुरी नपरेको प्रतिक्रिया दिनुभयो । 
उहाँले सार्वजनिक स्थललाई चुनाव प्रचार गर्ने स्थल बनाउन नपाइने भन्दै उजुरी परे कारवाही प्रकृया अघि बढाउने बताउनुभयो । सार्वजनिक स्थलमा उम्मेदवारी दर्ता हुनुभन्दा अघि पोस्टर टाँसेमा सम्बन्धित दलहरुलाई आचारसंहिता लाग्ने ढुंगानाको भनाई छ ।