ताजा खाबर :

News

image not found

कञ्चनपुरको शुक्लाफाँटाबाट विवेकशिल चुनाव लड्दै

थारु समुदायका मतदाताबाट उद्घाटन गराएर कार्यालय स्थापना 
कञ्चनपुर समाचार
महेन्द्रनगर, १७ जेठ
पहिलो चरणको निर्वाचनमा चर्चामा आएको विवेकशील नेपाली दलले कञ्चनपुरबाट पनि चुनाव लड्ने घोषणा गरेको छ । विवेकशिलले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाबाट दोस्रो चरणको निर्वाचन लड्ने घोषणा गरेको हो । 
उसले शुक्लाफाँटा नगरपालिकामा ३० वर्षिय युवक अर्जुनसिंह धामीलाई मेयर पदमा उठाउने भएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा उम्मेदवार धामीले आफू शुक्लाफाँटा नगरपालिका क्षेत्रका समस्यासँग अभ्यस्त रहेको भन्दैै विद्यमान समस्या समाधानका लागि स्पष्ट कार्ययोजना लिएर चुनावी मैदानमा होमिएको बताउनुभयो । स्थानीय क्लब र फाउन्डेसनहरुबाट किशोरावस्थाबाटै समाजसेवामा सक्रिय मेयर उम्मेदवार धामी स्वरोजगार उद्यमी भएको विवेकशिलले जनाएको छ ।
विवेकशिलले शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ मा वडा अध्यक्षका लागि दिलबहादुर साउदलाई अघि सारेको छ । उम्मेदवारी घोषणा कार्यक्रममा विवेकशिल कञ्चनपुरका सँस्थापक सदस्य हरीशप्रसाद भट्टले दलको चुनाव चिन्ह बिना उम्मेदवारी दिनु परेकाले धेरै चुनाव चिन्हहरु प्रचार गर्न गाह्रो पर्ने भएकाले थोरै पदमा मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरिएको बताउनुभयो । उहाँका अनुसार विवेकशिलले शुक्लाफाँटाका अन्य वडामा आफ्नो समर्थनमा स्वतन्त्र उम्मेद्वार उठाउने बताएको छ । 
काठमाण्डौँ पछि अब कञ्चनपुरबाट विवेकशील नेपाली दलले सुसँस्कृत विवेकशील राजनीतिको पाइला चालेको र शुक्लाफाँटावासीले यसपाली विवेकशील युवा उम्मेद्ववारलाई जिताएर “चमत्कार“ गर्ने सुइँको पाएरै चुनाव लडेको जिल्ला अध्यक्ष मदन खडायतको भनाइ छ । निर्वाचनको तयारीकालागि विवेकशिलले झलारी बजारमा स्थानीय मतदाताहरु मुगी रानाथारु र मुल्ली रानाथारुबाट कार्यालयको उद्घाटन गराएको छ ।