ताजा खाबर :

News

image not found

कैलालीमा काँग्रेसका उम्मेदवार केन्द्रबाटै मनोनित

आईतबारसम्म कञ्चनपुरमा उम्मेदवारी टुंगो लाग्न सक्ने
 
कञ्चनपुर समाचार
महेन्द्रनगर, २७ जेठ 
नेपाली काँग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि कैलालीमा उम्मेदवारको टुंगो लगाएको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयले कैलालीका १३ वटै स्थानीय तहमा प्रमुख र उपप्रमुखको मनोनयन गरेको हो । 
काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा हस्ताक्षरित मनोनयन पत्रका अनुसार धनगढी उपमहानगरपालिकाको मेयर पदमा नृप ओड र उपमेयरमा सुशिला मिश्र भट्टलाई उम्मेदवार मनोनयन गरिएको छ । काँग्रेस कैलालीलाई शनिबार पठाइएको उक्त पत्रानुसार टीकापुर नगरपालिकाको मेयरमा जंगबहादुर साउद र उपमेयरमा केशरी विष्ट रावल, घोडाघोडीको मेयरमा रीताकुमारी चौधरी र उपमेयरमा हेमबहादुर बम तथा लम्कीचुहा नगरपालिकामा भक्तबहादुर थापालाई मेयर र धना चौधरीलाई उपमेयरको उम्मेदवार बनाइएको छ । 
यसैगरी भजनीको मेयरमा बीरबहादुर हमाल र उपमेयरमा भारती चौधरी, गोदावरीको मेयरमा बिरेन्द्र भट्ट र उपमेयरमा भगवती पाठक, गौरीगंगाको मेयरमा दिनेशराज जोशी र उपमेयरमा मेनका जोशीले टिकट पाउनुभएको छ । काँग्रेसले जानकी गाउँपालिकामा ग्रगादेवी चौधरी र सूर्यबहादुर बटाला, बर्दगोरियामा बलीराम चौधरी र ललिता भट्ट, मोहन्यालमा लोकेन्द्रबहादुर बडुवाल र रवीकुमारी रानामगर, कैलारीमा रामसमझ चौधरी रअनिता चौधरी, जोशीपुरमा रामकृष्ण चौधरी र गीता कठरिया तथा चुरे गाउँपालिकामा टीकाराम ढुंगाना र धना थापालाई क्रमशः मेयर र उपमेयरमा मनोनयन गरेको छ ।
काँग्रेसले कञ्चनपुरमा भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन् । कञ्चनपुरका नौ वटै स्थानीय तहमा प्रमुख पदका उम्मेदवार टुंगो लागि सकेको भएपनि उपप्रमुखको टुंगो नलागेका कारण नाम सार्वजनिक नगरिएको काँग्रेस स्रोतले जनाएको छ । स्रोतका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिकामा पदम बोगटी, बेदकोट नगरपालिकामा भोजराज बोहरा, महाकाली नगरपालिकामा बीरबहादुर सुनार र पुनर्वास नगरपालिकामा तोयराज शर्माले मेयर पदमा टिकट पाउने निश्चित प्रायः छ । काँग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयले आईतबारसम्म कञ्चनपुरमा उम्मेदवारी टुंगो लाग्न सक्ने प्रतिक्रिया दिनुभएको छ ।