ताजा खाबर :

News

image not found

दोस्रो चरणको निर्वाचनमा ४८ घण्टाका लागि कञ्चनपुरमा सीमानाका बन्द हुने

कञ्चनपुर समाचार
महेन्द्रनगर, २९ जेठ
आगामी असार १४ गतेका लागि निर्धारण गरिएको दोस्रो चरणको निर्वाचनका बेला शान्ति–सुरक्षा थप माजबुद बनाउन भारतसँग जोडिएका कञ्चनपुरका सीमा नाकाहरु ४८ घण्टाका लागि बन्द गरिने भएका छन् । 
नेपाल र भारतको सीमा समन्वय समितिको सोमबार महेन्द्रनगरमा सम्पन्न संयुक्त बैठकले चुनाव अवधी भर सम्भावित अप्रिय घट्ना हुन नदिन ४८ घण्टाका लागि सीमा बन्द गर्ने निर्णय गरेको हो । बैठकमा भएका निर्णय सार्वजनिक गर्न आयोजित आयोजित पत्रकार सम्मेलनमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले असार १२ गते बिहानदेखि १४ गते साँझ ५ बजेसम्म सीमा नाका बन्द हुने जानकारी दिनुभयो । बैठकमा निर्वाचन अवधिभर सीमाको सुरक्षा व्यवस्थामा कडाई गरिने सहमति भएको उहाँले बताउनुभयो । 
प्रमुख जिल्ला अधिकारी खनालका अनुसार दुवै देशका सुरक्षा निकायका बीचमा सीमामा सुरक्षा निगरानी बढाउने, दुवै देशका सुरक्षा अधिकारी सम्मिलित टोली गठन गर्ने, सीमामा थप चेक प्वाइन्ट खडा गर्ने, आपराधिक विषयमा सूचना आदान–प्रदान गर्ने सहमति भएको छ । बैठकमा निर्वाचन बिथोल्ने तत्वमाथि निगरानी बढाउने, महिला, बालबालिका बेचबिखन, वन तथा वनजन्य पदार्थ चोरी निकासीलाई नियन्त्रण गर्न भारतीय पक्ष सहमत भएको छ । सीमामा भारतीय पक्षबाट नेपाली नागरिक लुटिने, ठगिने तथा दुःख पाउने गरेको बारेमा समेत कुरा उठाइएको बताउदै प्रमुख जिल्ला अधिकारी खनालले सो बारेमा भारतीय अधिकारीले सम्बन्धीत निकायलाई तत्कालन निर्देशन दिने आश्वासन दिएको बताउनुभयो । 
दुवै देशका सीमा समन्वय समितिको बैठकमा सीमावर्ती तीन जिल्लाका प्रमुख तथा सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो । बैठकमा भारतको उधमसिह नगर जिल्लाका डिष्ट्रिक मजिष्ट्रेट आलोककुमार पाण्डे, चम्पावत जिल्लाका अहमद इकवाल र पिलिभित जिल्लाका शितल बर्मा सहभागि हुनुहुन्थ्यो । नेपालका तर्फबाट कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी खनाल, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्द लगायत सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।