ताजा खाबर :

News

image not found

सिद्धनाथ ढोगेर चुनावी प्रचार !

कञ्चनपुर समाचार

महेन्द्रनगर, ३० जेठ

सबैभन्दा ठूलो नगरपालिका भिमदत्त नगरपालिकामा नेपाली कांग्रेसले मन्दिरमा पूजा गरेर औपचारिक रुपले चुनावी प्रचार अभियान सुरु गरेको छ । भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेदवार पदम बोगटीले भीमदत्त नगरपालिका-९ ब्रह्मदेवस्थित ऐतिहासिक सिद्धनाथ मन्दिरमा पूजा गरेर औपचारिक रुपमा चुनावी प्रचार अभियान सुरु गरेका हुन् ।

कांग्रेसले सोमबार साँझ लामो कसरतपछि मात्रै कञ्चनपुरका नौं वटै स्थानीय तहमा उम्मेदवारहरुको औपचारिक टुंगो लगाएको हो । मंगलबार बिहान मेयर पदका उम्मेद्वार बोगटीले सिद्धनाथ मन्दिरमा पुजाआजा गरेर वडा नम्बर ९ मा पर्ने विकट वस्तीहरु खल्ला, टुँडीखेल र मसेट्टीमा घर दैलो गरेका छन् । कांग्रेस कञ्चनपुरका सचिव दिवाकर पाण्डेयको नेतृत्वमा भएको घरदैलो कार्यक्रममा उपमेयर पदकी उम्मेद्वार सुशीला चन्द सिंह, वडा अध्यक्षका उम्मेद्वार बीरभद्र नाथसहित कांग्रेसक सयौं नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

घरदैलोपछि खल्लास्थित प्राचीन सिद्धनाथ मन्दिर नजिकै आयोजित चुनावी सभामा मेयर पदका उम्मेद्वार बोगटीले आफुले चुनाव जिते नगरपालिका कार्यालयमा व्याप्त भ्रष्टाचार निमिट्यान्न पारेर इमान्दारिताका साथ काम गर्ने प्रतिबद्धता जनाए । उनले खल्ला-मुसेट्ठी क्षेत्रको विकाससँगै वस्तीलाई महाकाली नदिको कटान र डुवानबाट जोगाउनु पर्नेमा जोड दिए ।

उनले भने, ‘सिद्धनाथलाइ साक्षी राखेर यस ठाउँबाट प्रचार सुरु गरेका छौँ, कांग्रेसलाइ जिताउनुस विकासको सुरुवात यसै ठाउँबाट गर्छौँ । यो मेरो बाचा भो ।’ उम्मेद्वार बोगटीले आफ्नो पार्टीले चुनाव जिते खल्ला मुसेट्ठी क्षेत्रको बिकासका लागि जनतासँग छलफल गर्न हरेक शुक्रवार बाँस बस्न आउने र आइतवार फर्किनेसमेत प्रतिबद्धता जनाए ।

उपमेयरकी उम्मेद्वार सिंहले घरदैलोका क्रममा विपक्षी दलले मतदातालाइ कांग्रेसबिरुद्ध भड्काएको भन्दै खल्ला-मुसेट्ठी क्षेत्रका जनतालाइ भड्काउमा नलाग्न अनुरोध गरिन् । उनले भनिन्, ‘कांग्रेसले झुठो आश्वासन दिन जानेको छैन, कांग्रेसलाइ जिताउनुस हामी गरेर देखाउने छौं ।’ सिंहले आफुले चुनाव जिते महिला र बालबालिकाका क्षेत्रमा नमुना काम गर्ने प्रतिबद्धता गरिन् ।

त्यस्तै सचिव पाण्डेयले खल्ला मुसेट्ठी क्षेत्रको दीर्घकालिन सुरक्षाका लागि कांग्रेसले पहल गरि रहेको बताए । उनले खल्ला क्षेत्रको बिद्यालयको स्वीकृति र भवन निर्माणमा विशेष योगदान पुर्‍याएको दावी गर्दै कांग्रेसलाइ चुनाव जिताए अझै विकास हुने प्रतिबद्धता व्यक्त गरे । उनले सरकारले खल्ला मुसेट्ठी क्षेत्रको वस्ती हटाउने बेला तत्कालिन महेन्द्रनगर नगरपालिकाका मेयर यगराज जोशीले उक्त क्षेत्रका जनताको पक्षमा खेलेको भुमिका स्मरण गर्न आग्रह गरे ।

चुनावी सभामा जनजाति नेता गोपाल गुरुङले मेयर पदका उम्मेद्वार बोगटीले राजनीती सुरु गर्दा पाएको दुखको स्मरण गर्दै अहिलेसम्मको भुमिकाको प्रशंसा गरे । उनले भने, ‘धेरै बोल्नै पर्दैन भीमदत्तमा मेयर पदमा उठाएका तीन ठूला दलका उम्मेदवारले नगर विकास समितिमा खेलेको भुमिका हेर्नुस । को कति विकास प्रेमी छ यहाँहरु आफै थाह पाउनु हुनेछ ।’

उनले थपे, ‘बोगटी जी अढाइ बर्ष नगर विकास समितिमा अध्यक्ष हुनु भयो त्यो अवधीमा उहाँले एक धुर जमिन बेचेको छ वा कसैबाट एक कप चिया फोकटमा पिउनु भएको छ भने राजनिती त्यागी दिन्छु ।’