ताजा खाबर :

News

image not found

काँग्रेसले गरेका विकासे काम बारे जनतालाई बुझाउनुस् : नेता लेखक

 
 
भ्रम छरेर एमालेले जनता झुक्याई रहेको आरोप
 
केशव सावद
महेन्द्रनगर, २ असार
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन परिचालन उपसमितिका संयोजक रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाका १९ वटै वडाका उम्मेदवारहरुसँग छलफल गरेका छन् । भीमदत्त नगरपालिकामा मेयर र उपमेयर पदका लागि काँग्रेसका तर्फबाट चुनाव लड्न गइरहेका उम्मेदवारसँगै नेता लेखकले शुक्रबार वडा अध्यक्ष र वडा सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका हुन् । 
मेयर पदका उम्मेदवार पदम बोगटी र उपमेयर पदका उम्मेदवार सुशिला चन्द सिँहसहित नेता लेखकले पार्टी कार्यालयमा हरेक वडाका वडा सभापति तथा वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारहरुसँग चुनावी रणनीतिका बारेमा छलफल गरेको काँग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले जानकारी दिए । ‘मेयर उपमेयरका उम्मेदवारसहित उहाँले वडा वडाबाट चुनाव लड्न गइरहेका उम्मेदवारहरुसँग चुनावी कुराकानी गर्नुभयो ।’ उनले भने, । 
नेता लेखकले उम्मेदवारहरुलाई आ–आप्mनो वडामा काँग्रेसका पक्षमा मतदाताले मतदान गर्ने वातावरण तयार पार्न निर्देशन दिएका छन् । ‘काँग्रेसले कञ्चनपुरमा अहिलेसम्म कसैले गर्न नसकेको विकास गरेर देखाएको छ ।’ लेखकको भनाई उधृत गर्दै सभापति बोहराले भने, ‘काँग्रेसले गरेका विकासे कामका बारेमा जनतालाई बुझाउनुस् । चुनावी माहोल पार्टीका पक्षमा निर्माण गर्नुस् ।’ प्रतिपक्षी एमालेले काँग्रेसले गरेका काम आफूले गरेको भ्रम छरेर जनता झुक्याई रहेको भन्दै नेता लेखकले एमालेको भ्रम चिरेर जनतालाई सत्यतथ्य बुझाउन कार्यकर्ताहरु चुक्न नहुनेमा जोड दिए ।   
हरेक वडाका उम्मेदवारहरुसँग छुट्टाछुट्टै गरिएको छलफलमा नेता लेखकले पार्टीलाई चुनावमा जिताउन उम्मेदवारहरुले बनाएको रणनीति, आगामी रणनीति र पार्टीले टिकट दिइसकेपछि असन्तुष्ट अन्य आकांक्षीहरुले चुनाव प्रचार प्रसार देखाएको प्रतिक्रियाका बारेमा छलफल गरिएको सभापति बोहराको भनाई छ । 
छलफलमा सहभागि वडानम्बर १० का वडा सभापति तथा वडा अध्यक्षका उम्मेदवार गोकुल जोशीले नेता लेखकले जसरी पनि काँग्रेसलाई जिताउने वातावरण तयार पार्न निर्देशन दिएको बताए । नेता लखेकसँग अधिकांश उम्मेदवारले पार्टीले टिकट दिएपछि टिकट नपाएका आकांक्षीसँग एक पटक छलफल गर्न आग्रह गरेका छन् । उम्मेदवारहरुको आग्रह अनुसार नेता लेखकले शुक्रबार पार्टी कार्यालयमा उपलब्ध टिकट नपाएका आकांक्षी नेताहरुसँगपनि चुनावी छलफल गरेका थिए । 
पार्टी कार्यालयमा भएको छलफलमा सभापति बोहरा, सचिव दिवाकर पाण्डेय, कोषाध्यक्ष शंकर चन्द, क्षेत्र नम्बर ४ का सभापति गोपाल चन्द, नगर सभापति पदमराज अवस्थी, नेपाल महिला संघका अध्यक्ष मधु भारती, मेयर पदका उम्मेदवार बोगटी, उपमेयर पदका उम्मेदवार चन्दको सहभागिता रहेको थियो । 
काँग्रेस कञ्चनपुरले असार १४ गते हुन गइरहेको दोस्रो चरणको निर्वाचनको थप रणनीति बनाउन शनिबार जिल्ला कार्य समितिको बैठक आव्हान गरेको छ । दिउँसो ३ वजे बस्ने बैठकमा केन्द्रीय सदस्यद्वय एनपी सावद, रमेश लेखक, साँसदहरु बहादुरसिँह थापा, दिवानसिँह बिष्ट, बलदेव बोहरा, तारणीदत्त चटौत, पूर्व आमन्त्रित केन्द्रीय सदस्यद्वय यज्ञराज जोशी, प्रतापराम लुहार, पूर्व जिल्ला सदस्यहरु र भातृ संगठनका प्रमुखहरुलाई आमन्त्रण गरिएको सभापति बोहराले जानकारी दिए । बैठकले चुनावी परिणाम काँग्रेसका पक्षमा पार्न अपनाउन सक्ने सम्पूर्ण विकल्पहरुका बारेमा छलफल गर्ने बताइएको छ ।