ताजा खाबर :

News

image not found

कांग्रेसका आधिकारिक उम्मेदवारलाई जिताउन उम्मेदवारी फिर्ता

 
कञ्चनपुर समाचार 
कृष्णपुर, ६ जेठ
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली काँग्रेसका बागी उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । कृष्णपुरको वडा नम्बर २ बाट वडा अध्यक्षका बागी उम्मेदवार सिद्धराज जोशी र दिपक मल्लले उम्मेदवारी फिर्ता लिएका हुन् ।   
दोस्रो चरणको स्थानीय निर्वाचन कार्यतालिका अनुसार असार ४ गते उम्मेदवारी दिएका जोशी र मल्लले असार ६ गते बिहान १० बजे उम्मेदवारी फिर्ता लिएको कृष्णपुर नगरपालिका निर्वाचन अधिकृत तिर्थराज भट्टले बताए । उनीहरु कांग्रेस समर्थक भएकोले आगामी दिनमा पनि नेपाली कांग्रेसलाई विजयी गराउन सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । 
त्यसैगरी कांग्रेसबाटै बागी उठेका कृष्णपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्षका उम्मेदवार चन्द्रबहादुर साउदले चुनाव नलड्ने जनाएका छन् । उम्मेदवारी फिर्ता गर्ने समय बितिसकेकोले उनलाई निवार्चन कार्यालयले भने सोली चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन अधिकृत भट्टका अनुसार साउदको उम्मेदवारी फिर्ताका लागि निवेदन परेको तर उम्मेदवारले औपचारिक रुपमा उम्मेदवारी फिर्ता नलिएको र चुनाव चिन्ह ग्रहण गर्न उपस्थित नभएकाले निर्वाचन कार्यालयले नै छानेर सोली चिन्ह उपलब्ध गराएको हो । 
साउदले प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेपनि आफूले उम्मेदवारी फिर्ता गरेर पार्टीको आधिकारिक उम्मेदवारलाई सघाउने बताएका छन् । उनले विज्ञप्तिमा लेखेका छन्, ‘म लामो समयदेखि आबद्ध राजनीतिक दल नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारलाई सहयोग गरी विजयी गराउन उम्मेदवारी फिर्ता गरेको घोषणा गर्दछु ।’  साउदले सम्पूर्ण मतदाता, शुभचिन्तक तथा समर्थकहरुलाई कांग्रेसलाई जिताउन सहयोग गर्न पनि विज्ञप्तिमार्फत अपिल गरेका छन् । साउदको प्रस्तावकमा मोहनराज जोशी र समर्थक हरीप्रसाद अवस्थी थिए ।  
त्यसैगरी वडा नम्बर ९ बाटै स्वतन्त्रका उम्मेदवार हिक्मत राज वस्थीले भने डाक्टर चुनाव चिन्ह प्राप्त गरेर वडा अध्यक्ष्यको उम्मेदवारमा प्रतिस्पर्धा गर्ने भएका छन् । यसै गरी शुकलाफाटामा मेयरका उम्मेदवार सहित ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । ६२  पदका लागि २ सय ७८ जनाको उम्मेदवारी परेकोमा चार जनाले फिर्ता लिएका हुन् ।
शुक्लाफाटा नगरपालिकामा स्वतन्त्रको तर्फवाट मेयर पदमा उम्मेदवारी दिएका कांग्रेसका लालबहादुर सिहंले पनि उम्मेबारी फिर्ता लिएका छन् । त्यस्तै वडा नम्बर १ का अध्यक्षका सुरत विष्ट, वडा नम्बर ११ का अध्यक्षका उम्मेदवार देवबहादुर विष्ट र वडा नम्बर २ कालागि दलित महिला सदस्यका उम्मेदवार धनादेवी तिरुवाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत प्रेमसिहं कुवँरले बताए ।