ताजा खाबर :

News

कञ्चनपुरको लालझाडी माओवादीको कब्जामा

 
केशव सावद
महेन्द्रनगर, १७ असार
कञ्चनपुरको लालाझाडी गाउँपालिकाको प्रमुख र उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रले जितेको छ । शुक्रबार मध्यराति सम्पन्न मत गणनामा माओवादी केन्द्रका मदनसेन बडायक गाउँपालिका प्रमुख र सत्यदेवी महरा गाउँपालिका उपप्रमुखमा विजयी हुनुभएको हो । 
गाउँपालिका प्रमुख बडायकले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका निर्मल रानालाई एक सय ४५ मतले हराएको निर्वाचन अधिकृत हरिकृष्ण अवस्थीले जानकारी दिनुभयो । उहाँका अनुसार बडायकले दुई हजार पाँच सय नौ र उहाँका निकटतम प्रतिद्वन्द्वी रानाले दुई हजार तीन सय ६४ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेसका गाउँपालिका प्रमुख पदका उम्मेदवार धर्मसिँह बडायकले एक हजार नौ सय दुई मतमा चित्त बुझाउनु परेको छ । 
यस्तै गाउँपालिका उपप्रमुख पदमा विजयी महराले दुई हजार तीन सय ४२ मत ल्याउनुभएको छ । गाउँपालिका उपप्रमुखमा एमालेले दुई हजार दुई सय १० र काँग्रेसले एक हजार नौ सय ७३ मत ल्याएको छ । 
यसैबीच भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को वडाध्यक्षमा नेकपा एमालेका दामोदर ओझा विजयी हुनुभएको छ । वडाध्यक्षमा विजयी महरा र उहाँका निकटतम् प्रतिद्वन्द्वीले पाएको मतका बारेमा निर्वाचन अधिकृतको कार्यालयले कुनै आधिकारिक तथ्याङ्क गरेको छैन् । शुक्रबार राति साढे ११ वजे मतगणनाको नतिजा सार्वजनिक भएको थियो । 
यसअघि भीमदत्त नगरपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका आसेफ कुँवर प्यानलसहित वडाध्यक्षमा विजयी हुनुभएको थियो । काँग्रेसका वडाध्यक्ष पदका उम्मेदवार आसेफ कुँवर ६ सय ३७ मतले प्यानल सहित विजयी हुनुभएको हो । 
उहाँका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका बाबुराम शर्माले चार सय ६९ मत ल्याउनुभएको छ । यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार प्रेम धामीले ५३ भोटमा चित्त बुझाउनु परेको छ । १६ सय ३९ मतदाता रहेको वडानम्बर १ मा १२ सय ४५ जना मतदाताले मतदान गरेका थिए ।