ताजा खाबर :

News

image not found

आठ सय बढी परिवार दूषित पानीको प्रयोग गर्दै

रेडियो कञ्चनपुर 
महेन्द्रनगर/बैशाख २ गते 
 
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का ८८० परिवार दूषित पानीको प्रयोग गर्दै आएका छन् ।
 
हेण्डपम्पमार्फत आउने दूषित पानीका कारण यहाँका बासिन्दा बिरामी पर्दै आएका छन् । पानीसँगै मिसिएर आउने पहेलो पदार्थका कारण पेट दुख्ने, पत्थरी हुने, छालासम्बन्धी विभिन्न रोग देखा पर्ने गरेको वडासदस्य बलदेव भट्टले बताउनुभयो । दूषित पानीका कारण लाग्ने रोगबाट बूढापाका, बालबालिका बढी प्रभावित हुँदै आए पनि युवा र महिलासमेत यसबाट प्रभावित रहेका  उहाँले बताउनु भयो । पानीकै कारण हुने गरेका रोगको उपचारका लागि स्थानीय बासिन्दा स्वास्थ्य चौकी पुगेर उपचार गराउँदै आएपछि लामो समयसम्म पनि छालासम्बन्धी रोग निको हुने गरेको छैन ।
 
दमलपट्टि, चित्रपुर, कालागौंडी, आन्ध्राजाला, तिलकपट्टिलगायत क्षेत्रका बासिन्दा दूषित पानीका कारण बढी प्रभावित रहेका छन् । विभिन्न निकायमा पुगेर पानी चेकजाँचका लागि आग्रह गरे पनि हालसम्म पानी चेकजाँच हुन नसकेको स्थानीय बासिन्दाले बताए । पानीमा पहेलो निस्कने पदार्थ आइरन वा आर्से्निक हुनसक्ने अनुमान गरिँदै आए पनि पिउने पानीको अर्को विकल्प नहुँदा स्थानीय बासिन्दा बाध्यताले सोही पानीको प्रयोग गर्दै आएका छन् । त्यसक्षेत्रमा ३०÷३५ फिटमै हेण्डपम्पमा पानी आउने गरेको छ ।
 
पहेँलो पानीका कारण बिरामीका साथै कपडा धुने गर्दा पूरै पहेँलो हुने र भाँडाकुडामा समेत कालो दाग लाग्ने समस्या रहेको वडाध्यक्ष बाले रानाले बताउनु भयो । स्थानिय बासिन्दाले खानेपानी आयोजना निर्माणका लागि सम्बन्धित निकायसँग आग्रह गरेका छन् । साभारःरासस