ताजा खाबर :

News

image not found

कञ्चनपुरमा नेपाल महिला संघले तीज नमनाउने

 
गोकुल जोशी
महेन्द्रनगर/भदौ १४
नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघ कञ्चनपुरले यस वर्षको हरितालिका तीजको  अवसरमा जिल्लाका बिभिन्न ठाँउमा आयोजना गर्ने औपचारिका   कार्यक्रम नगर्ने भएको छ । कञ्चनपुरको बिभिन्न ठाँउमा महिला बिरुद्धका हत्या, हिँसा र बलात्कारका घटना बढ्दै गएको भन्दै महिला संघ कञ्चनपुरले बिहिबार  प्रेस बिज्ञप्ती जारी गर्दै शुभकामना आदानप्रदानका  कार्यक्रम नगर्ने जनाएको हो । यसअघि नेपाल महिला संघ कञ्चनपुरले  जिल्लाको बिभिन्न स्थानमा शुभकामना आदान प्रदानका कार्यक्रमको आयोजना गर्दै आएको थियो ।
 
 निर्मला हत्याकाण्डमा  प्रशासनबाट भएको गलत छानविनको बिरोधमा भएको आन्दोलनका क्रममा प्रहरीले चलाएको  गोली लागेर  सन्नी खुनाको मृत्यु  र करिब तिन दर्जन युवाहरु घाइते भएको घटनाप्रति नेपाल महिला संघ दुःखीत भएको नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष मधु भारतीले बताउनु भयो ।  भीमदत्त नगरपालिका २ कि निर्मला पन्तको बलात्कार पछि भएको हत्याका साथै पटक पटक  महिला बिरुद्ध भएका घटनाले महिला संघ कञ्चनपुर शोकमा रहेकाले यस बर्ष जिल्ला भरि नै कार्यक्रमको आयोजना नगर्ने नेपाल महिला संघ कञ्चनपुरकी अध्यक्ष भारती र सचिव अनिता मडैद्धारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
 
सरकार पक्षबाट भएको दमनपछि जिल्लाको अशान्त वातावरण सहज बनाउन भदौ ९ गते बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले घाइतेहरुको उपचार सरकारले गर्ने सहमति भएपनि सरकारका तर्फबाट घाइतेहरुको उपचारका लागि कुनै पहल नभएको प्रति आपत्ति पनि जनाइएको छ । उपचारका लागि सम्बन्धित व्यक्तिले आफ्नै स्रोतबाट व्यवस्थापन गरिरहेको भन्ने बुझिन आएकोले यसबाट आर्थिक अभावका कारण घाइतेहरुको समयमा उपचार हुन नसकेर दिन प्रतिदिन स्वास्थ्य अवस्था झन बिग्रने सम्भावना भएकाले घाइतेहरुको अविलम्ब एवम् सहज ढंगले उपचारको व्यवस्था मिलाउन सरकारसँग जोडदार माग गरेको छ ।
 
१३ वर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै चर्किएको नागरिक आन्दोलनमा प्रहरीले व्यापक दमन गर्दा घाइते भएकाहरुको अहिले महेन्द्रनगर, धनगढी, कोहलपुर, काठमाडौं र भारतीय सहर बरेलीका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षिय सन्नी खुनाको मृत्यु भएको थियो भने करिब तिन दर्जन युवाहरुलाई गोली लागेको थियो ।