ताजा खाबर :

News

image not found

प्रदेश नम्बर ७ मा गौरा पर्व सुरु

 
रेडियो कञ्चनपुर
भदौ, १५ महेन्द्रनगर
प्रदेश नम्बर ७ अर्थात सुदूरपश्चिममा शुक्रबारदेखि गौँरा पर्व सुरु भएको छ । गौरा पर्वको पहिलो दिन शुक्रबार, महिलाहरूले निराहार रही आ–आफ्नो घरमा तामा वा पित्तलको भाँडोमा ’बिरुडा’ अर्थात् पाँचथरीका गेडागुडी भिजाएसंगै सुरु भएको हो । सुदुपश्चिमेलीहरुले धुमधामका साथ मनाईने गौरापर्व भाद्र कृष्ण पञ्चमीदेखि सुरु हुने गर्दछ । गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाडामा पाँच प्रकारका अन्न भिजाएर पर्वको थालनी गरिन्छ । आज पञ्चमीका दिन महिलाले बिहानै स्नान गरी घर घरमा बिरुडा राखेका छन् ।
 
घरको एक कोठामा गाईको गोबरले लिपेर तामा पितलका भाँडाको बाहिरपट्टि पाँच ठाउँमा गाईको गोबर र दुबो लगाई टीका र अक्षताले सिङ्गारेर धुप बत्ती बालेर पञ्च अन्न गहुँ, मास, गहत, गोरस र कलौ भिजाएर राखेर भगवन महेश्वरको आह्वान गर्ने कार्यलाई बिरुडा भनिन्छ । यस दिन महिलाले माङ्गलिक गीतहरु गाउँदै गाउँका पँधेरो, खोला, नदीको मुहानमा बिरुडा भिजाउनाका साथै पञ्च वनस्पति धान, साँउ, तिल, बेल र पातीको पुत्ला बनाएर पँधेरामा राखी पूजा गर्ने र बिरुडा लिएर मङ्गल गीतसँगै घरमा ल्याएर राख्ने गर्छन् ।
 
विवाहित महिलाले गौरा पर्वमा बर्त बसी कण्ठसूत्र धारणा गर्नुपर्ने र पुरुष सरह गायत्रीजप गरी भोजन ग्रहण गर्ने प्रचलन छ । गौरा सुदुर पश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो ।  विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको छ । गौरा पर्व भाद्र शुक्ल को षष्ठी देखी अष्टमी सम्म ७ नम्बर प्रदेश भरि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ ।
के हो त गौरा पर्वको प्राचिन मुल्य मान्यता
मुलतः गौँरा पर्वका अधिष्ठाता–आधार र  अभीष्ट पूजित देवता भनेका शिव र पार्वती हुन् । शिव जी  र पार्वतीलाई मात्रै पुज्ने देवता मानेर गौरा पर्वको उत्पत्ति कसरी भयो भन्ने कुरा स्कन्द पुराणका मानसखण्डमा उल्लेख भएको पाइन्छ । जस अनुसार– यो मानसखण्डमा पर्ने मानसरोवर कैलाश पर्वतमा हिमालय पर्वतकी पुत्री  गौरीले महादेव शिवलाई   पति पाउँन सकु भनेर बालुवाको शिवलिङ्ग बनाएर १२ बर्ष सम्म निराहार कष्टपूर्ण तपस्या र  पूजा गरि बसेको प्रतिफलमा उनले श्री महादेवलाइ पति पाएको हुनाले  हिमालयकी पुत्री गौरीले त्यही शिव पार्वती सम्वन्धी विवाह विधी र  पूजा आजा गरेको विषयलाई आधार बनाइ  त्यही समयदेखि सुदूर पश्चिमेली लोक जीवनका नारीहरूले हिमालयकी पुत्री गौरी लाई गौँरा (गोःरा–गौरा–गमरा) को प्रतिमूर्तिका रुपमा लिएर शिवपार्वतीको पुजा आजा र  ब्रत उपवास गर्दै आएका छन भने , महादेवलाइ नै पति पाउँ भन्ने  गौरीको हट् लाई हिन्दु संस्कृति अनुसारको वैदिक विवाहलाई व्यवहारमा उतारिएको पाइन्छ । 
 
 
यस्तो पनि छ, प्राचिन कथा
प्राचीन हैह्यवंशी राजामध्येका सहस्त्रार्जुनले भृगुवंशी ब्राह्मणँहरुबाट आफ्नो धन फिर्ता माग्ने क्रममा ब्रह्मणलाई मारिदिएपछि विधवा भएकी ब्राह्मणीहरुले आफ्नो सतित्व रक्षार्थ निराहार रही गरेका उपासनाको फलस्वरुप एक ब्राह्मणीले तेजिलो पुत्र लाभ गरिन् र सोही पुत्रको तेजले अन्धा हुन पुगेका सहस्त्रार्जुन नाम गरेका ती राजाले माफी माग्नुपरेकाले गौरीलाई सर्वशक्तिमान सम्झी उनकै सम्झनामा गौरा पर्व मनाउन थालिएको हो । यो पर्वमा देउडा र धमारी खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःख सुख बाड्नुका साथै माया प्रेम बाड्ने गरिन्छ ।
 
कसरी मनाइन्छ त गौँरा पर्व ?
गौरा पर्वको सुरुको दिन, भाद्र कृष्ण पञ्चमीमा गहुँ, केराउ, गहत, मास र गुराँस मिसाएर तामाका भाँडामा भिजाईने गरिन्छ । जसलाई बिरुडा भन्ने गरिन्छ । महिलाहरुले गौरा पर्व सुरु भएको दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामुहिक रुपमा बिरुडा धोएर गौरा देवीको प्रतिस्थापन गर्ने चलन छ । पार्वतीले कठोर तपस्याद्वारा शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यस पर्वमा विशेषगरी गौरी अथार्त पार्वतीको पूचाअर्चना गरिन्छ । सप्तमीका दिन गौरा देवीलाई नजिकको मठ–मन्दिरमा भित्रयाएर पुजा–अर्चना गरी महिलाहरुले दुबधागो चढाउने गर्छन । अष्टमीका दिन त्यहि दुबधागो अभिसेक गरेर घाँटीमा लगाएर देवीको पुजा गर्ने परम्परा रहेको छ । सुदुरपश्चिममा महिलाले लगाउने दुबिधागोको र पुरुषले लगाउने जनैको जस्तै महत्व रहेको छ ।
 
गौरापर्वमा ब्रतालु तथा तथा श्रद्धालु महिलाहरूद्वारा गौराघरमा गई गरिने शिव र गौरीको पूजाअर्चनामा बिरुडालाई अक्षता र प्रसादक रुपमा प्रयोग गर्ने गरिन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरुले सामूहिकरुपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूति) बनाई गौराघरमा भित्र्याउछन् । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोक भाषामा देउडा, चैत, धमारी आदि खेल खेलेर आनन्द लिन्छन् । अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धामिर्क, आस्था, आपसी सद्भाव बढाउन मद्दत पुरयाउने मात्र नभई यस पर्वमा ब्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, ईष्ट र कुलदेवता प्रसन्न हुने जनविश्वास छ ।
 
कहाँ कहाँ मनाइन्छ गौरा पर्व ?
सुदूरपश्चिम तथा मध्यपश्चिममा मनाइने बिभिन्न चाडपर्वहरु मध्येको एक गौँरा (गोःरा–गौरा–गमरा) पनि हो । यो खासगरी धार्मिक भावना बोकेको गीती  पर्व पनि भएको हुनालृ सुदूरपश्चिमको धर्म संस्कृती र यहाँको गति संगीतलाई बढाउने काम गरेको छ । पारिवारिक सुख सम्वृद्धि , सन्तति र आफ्नो अटल सौभाग्यको कामना गर्ने सुदूरपश्चिमेली क्षेत्रका–डोटी, डडेल्धुरा, बैतडी, दार्चुला र मध्यपश्चिमका सुर्खेत, दैलेख, कालिकोट, रुकुम तथा अन्य जिल्लाहरु तथा छिमेकी राष्ट्र भारत उत्तराञ्चल कुमाउ क्षेत्र तिरका आस्थावान नारीले पनि यो  पर्वको ब्रतानुष्ठान गर्छन । पुख्र्यौली घर पहाड भएका कञ्चनपुर , कैलालीमा बसोबास गर्ने पहाडी क्षेत्रका पश्चिममेली समुदायमा पनि गौँरा (गोःरा–गौरा–गमरा) पुजा, ब्रत, अनुष्ठान र देउडा खेल खेलेर धुमधामका साथ मनाइन्छ ।