ताजा खाबर :

News

image not found

प्रदेश ७ को राजधानी ‘गोदावरी’ सिफारिसप्रति कांग्रेस र राजपाको असहमति !!

 
 
गोकुल जोशी 
महेन्द्रनगर/ असोज ९
 
 
प्रदेश ७ को राजधानी कैलालीको गोदावरीमा सिफारिस गरिएकोप्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले विरोध जनाएका छन्।
 
 
नेपाली कांग्रेसका सांसद डा.रणबहादुर रावलले विशेष समितिले प्रदेशसभामा प्रस्तुत गरेको प्रतिवेदनमा आफूहरुको असहमति रहेको बताए।
 
उनले सामुदायिक वनमा प्रदेशको राजधानी राख्दा वातावरणीय रुपमा पनि उपयुक्त नहुने तथा धनगढीमा अर्बौ रुपैयाँ भौतिक संरचनाका लागि खर्च भइसकेको अवस्थामा अन्य ठाउँमा राजधानी सार्न नहुनेमा जोड दिए।
 
उनले अन्य प्रदेशको तुलनामा प्रदेश ७ आर्थिक तथा स्रोत साधनमा गरिब भएका कारण नयाँ ठाउँमा राजधानी लैजाँदा प्रदेशलाई आर्थिक भार मात्रै बढ्ने बताए।
 
राष्ट्रिय जनता पार्टीका सांसद कृष्ण चौधरीले राजधानी सिफारिस गरिएको स्थान उपयुक्त नभएकोले आफुले राजधानीप्रति असहमति जनाएको बताए। उनले प्रदेश ७ का नौवटै जिल्लालाई केन्द्र हुने गरी स्थायी राजधानी राख्नुपर्नेमा जोड दिए। कसैको ब्यक्तिगत स्वार्थका लागि प्रदेशका जनतालाई दुरगामी असर पर्ने गरी राजधानी राख्न नहुने उनको भनाई थियो।
 
मंगलवारको प्रदेशसभा बैठकमा बिशेष समितिले राजधानी कैलालीको गोदावरी नगरपालिका ४ तेघरीस्थित नेपाली सेनाको ब्यारेक पछाडि र नाम सुदूरपश्चिम प्रदेश सिफारिस गरी प्रतिवेदन बुझाएको थियो।
 
प्रदेश सभा सदस्य तारा लामा तामाङको संयोजकत्वमा प्रदेशको नाम र राजधानी तोक्न विशेष समिति गठन भएको थियो। समितिका संयोजक लामाले विभिन्न क्षेत्र, पेशा व्यवसाय र राजनैतिक दलका प्रतिनिधीसँग आवश्यक छलफल गरी प्रदेश नाम र राजधानीको प्रतिवेदन तयार पारेको बताए।
 
अब बुधवारदेखि सांसदहरुबीच यसबारेमा छलफल सुरु गरिने कार्यतालिका रहेको छ। प्रदेश सभाका सदस्यहरुले राजधानी र नामांकनका लागि थप प्रस्ताव तथा संशोधन हाल्न पाउने छन्। प्रदेश सभामा सहमति नभए प्रदेशको नाम र राजधानीको टुंगो बहुमतबाट लाग्ने छ।
 
अहिले प्रदेश ७ को अस्थायी राजधानी धनगढीमा रहेको छ। यसअघिको क्षेत्रीय सदरमुकाम रहेको दीपायलमा राजधानी हुनुपर्ने माग राख्दै लामो समयदेखि आन्दोलन चलिरहेको छ भने डडेल्धुरमा पनि राजधानी हुनुपर्ने स्थानीयले माग गर्दै आएका छन्।