ताजा खाबर :

News

image not found

निर्मला हत्याकाण्डः प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै साेमबार शैक्षिक हड्ताल

गोकुल जोशी

महेन्द्रनगर /असोज १४ 

निर्मला हत्याकाण्डबारे अनुसन्धान गर्न गठित उच्चस्तरीय छानविन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै नेपाल विद्यार्थी संघले सोमवार कञ्चनपुरमा शैक्षिक हड्ताल आह्वान गरेको छ।

निर्मला हत्याबारेको प्रतिवेदन सार्वजनिक र हत्यारालाई छिटो कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै शैक्षिक हड्ताल आह्वान गरेको नेविसंघका नेता इन्द्र साउँदले बताए। घटना घटेको दुई महिना भन्दा बढि भइसक्दा पनि हत्यारा पहिचान हुन नसक्नु र छानविन समितिले बुझाएको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेकोले बाध्य भएर हड्ताल गर्नु परेको उनको भनाई छ।

उच्चस्तरीय छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखेर सरकारले बलात्कारीलाई बचाउन खोजेको हो कि भन्ने आशंका उत्पन्न भएको उनले बताए। तत्काल प्रतिवेदन सार्वजनिक गरेर दोषीलाई कारवाही नगरेमा आफुहरु शसक्त आन्दोलनमा जाने अर्का विद्यार्थी नेता किशोरप्रसाद जोशीले चेतावनी दिए। गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा गत भदौ ७ गते गठन गरेको उच्चस्तरीय छानविन समितिले घटनाबारे एक महिना अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो। उक्त प्रतिवेदन गृहमन्त्री रामबहादुर थापालाई बुझाइए पनि सार्वजनिक भएको छैन।

गत साउन १० गते पढ्न भनेर साथीको घरमा गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त बलात्कार गरी हत्या गरिएको अवस्थामा भोलिपल्ट उखुबारीमा फेला परेकी थिइन्। बलात्कार र हत्यामा संलग्न रहेको आशंका गरिएका तत्कालीन एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिज आयुश विष्टको डीएनए रिपोर्ट पनि निर्मलाको ‘भेजिनल स्वाब’ सँग मेल नखाएपछि घटना अझै रहस्यमयी बनेको छ।