ताजा खाबर :

News

image not found

तीन महिना टिकेनन् ,महेन्द्रनगरमा जडान गरिएका सिसी क्यामेरा !

गोकुल जोशी 
महेन्द्रनगर/ २२ असोज 
 
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरका बिभिन्न क्षेत्रमा जडान गरिएका क्लोज सर्किट टेलिभिजन सिसिटिभी जडान गरेको तीन महिना नपुग्दै काम नलाग्ने भएका छन्।  भीमदत्त नगरपालिकाको १९ लाख आर्थिक सहयोगमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरसंग समन्वय गरेर जडान गरिएका १६ सिसिटिभी काम नलाग्ने भएका हुन।
 
गत ३२ असारमा महेन्द्रनगरको खुल्ला मञ्चमा १, पुष्पलाल चोक १, मदन चोकमा २, बसपार्कमा १, महेन्द्रनगर स्मारकमा १, महाकाली अञ्चल अस्पताल अगाडि १, दशरथ चोकमा १, भीमदत्त नगरपालिका अगाडि १, राष्ट्रिय वाणिज्य बैंक अगाडि १, बरपिपल चोकमा १, बागवानी १, झोलुङ्गे पुल रोड हनुमान मन्दिरमा १, ओपेरा होटेल अगाडि गोल घरमा १ र खैरेनी चोकमा १ गरी १५ स्थानमा जम्मा १६ वटा सिसिटिभी क्यामेरा जडान गरिएका थिए।
 
ती १६ क्यामरा मध्ये हाल ७ वटा मात्र राम्रो रहेका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुवेर कडायतले बताए। ती राम्रा रहेका ७ क्यामराको पनि हाडडिक्स नभएर कामबिहीन भएको उनले बताए। उनले भने, ‘१६ क्यामेरामध्ये ७ मात्र राम्रा छन्। तर तिनिहरुको हाडडिस्क निर्मला हत्या प्रकरणको अनुसन्धानका क्रममा काठमाडौँ पठाईएको छ। त्यसैले अहिले कुनै पनि क्यामेरा प्रयोगमा छैनन्।’     
 
 
निर्मला हत्या प्रकरणको समयमा भएको आन्दोलनमा ७ वटा क्यामेरा तोडफोड भएका र २ क्यामेरा आफै बिग्रीएको उनले जानकारी दिए। असारमा मात्रै जडान गरिएका क्यामेरा असोज नसकिँदै काम नलाग्ने भएपछि नगरपालिकाले खर्च गरेको १९ लाख रुपैयाँ ‘बालुवामा पानी’ जस्तै भएको छ। काम सम्पन्न भएपछि, त्यसप्रति कुनै चासा नै नदेखाउने प्रवृतिले यस्तो हुने जानकारहरु बताउँछन्।
 
ट्राफिक व्यवस्था चुस्तदुरुस्त पार्न, पार्किङलाई व्यवस्थित गर्न र अपराध नियन्त्रण गर्न सघाउ पुग्ने उद्देश्यले जडान गर्न गरिएका क्यामेराले नै काम गर्न छोडेपछि स्थानियहरु चिन्तित बनेका छन। ‘क्यामेराले बजारको पल÷पलको जानकारी कैद गथ्र्यो, यसले गर्दा आफूहरुलाई निकै सहज भएको थियो’, भीमदत्त नगरपालिकाका स्थानीय विश्वलाल खत्रीले बताए।
 
सस्तो लोकप्रियताका लागि बजार क्षेत्रमा क्यामेरा जडान गरिएको कतिपयको आरोप छ। स्थानीय रमेश पन्त भन्छन्, ‘काम गरे भनेर देखाउने तर पछि त्यसको अवस्था के छ भनि कसैले पनि वास्ता नै गर्दैन।’ यस्तै केही दिनअगाडि महेन्द्रनगर बसर्पाकबाट रातारात एउटा बस गायव भएको थियो, जसलाई सिसीटिभीमा हेर्दा केही नदेखिएपछि नगरपालिकाले १९ लाखको लागतमा खरिद गरेको भनिएको क्यामेरा न्यून गुणस्तरको र कामै नलाग्ने अवस्थामा राखिएको स्थानीयहरुले आरोप लगाएका छन्। उक्त बस पछि कैलालीको लालपुरमा फेला परेको थियो।
 
क्यामेरा जडान गर्ने ठेक्का पाएको उग्रतारा ट्रेडर्सले बजार क्षेत्रमा जडान गरेका सिसीटिभी क्यामेराहरु ‘नाइटभिजन क्यामेरा’ भएको दाबी गर्दै आएको छ।