ताजा खाबर :

News

image not found

दशैँ, तिहार मान्न घर फर्किनेको गड्डाचौकीमा लर्को

 
गोकुल जोशी 
महेन्द्रनगर/ असोज २५
 
दशैँ र तिहार आएसँगै पश्चिमी सीमा नाका गड्डाचौकी भएर घर फर्कनेहरुको लर्को लागेको छ। नेपालीहरुको महान् चाड आएसँगै रोजगारीका लागि भारतका विभिन्न शहरबाट कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर घर फर्कनहरुको भिड लागेको हो।
 
रोजगारीका लागि भारत गएकाहरु हरेक वर्ष दशैं, तिहारमा घर फर्कने गर्छन्। अहिले सीमा नाकामा हेर्ने हो भने दशैँ, तिहार मनाउन घर फर्किनेहरुको निकै ठूलो लर्को लागेको देखिन्छ। भारतमा रोजगारी गरि चाडपर्वको खर्च जुटाएर उनीहरु आफ्नो सरसमानसहित स्वदेश फर्किरहेका छन्। दैनिक जसो तीन हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिरहेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जानकारी दिएको छ।
 
कञ्चनपुर नाका भएर भारत मजदुरी गर्न जानेहरुमा सुदूरपश्चिम प्रदेशका साथै मध्यपश्चिमका दाङ्ग, दैलेख, रोल्पा, सुर्खेत, जाजरकोट, कालिकोट, सल्यान लगायत जिल्लाका बढी छन् । उनीहरु मजदुरीका लागि भारतको गढवाल, सिमला, चण्डीगढ, लद्दाख, जम्मु कश्मिर, दिल्ली लगायतका स्थानमा जाने गर्छन्।
 
सुदूरपश्चिमका साथै मध्यपश्चिमबाट स्थानीयहरु कामका लागि भारत जानेहरु वर्षेनी बढ्दै गए पनि कति जना रोजगारीका लागि जान्छन भन्ने यकिन तथ्यांक भने छैन। यद्यपि यहाँबाट कामका लागि भारत जानेहरुको संख्या लगभग ६ लाख जति रहेको अनुमान विभिन्न संघसंस्थाहरुले लगाउने गरेका छन्।
 
आफ्नो देशमा रोजगारी नपाउनु, पाइहाले पनि न्युन पारिश्रमिकका काम गर्नुपर्ने, औषधीमुलो समेत राम्रो नपाइने भएपछि रोजगारीका लागि भारत जानेहरुको संख्या दिन प्रतिदिन बढ्दै गएको छ।
 
 
भारतबाट फर्कने नेपालीहरुले दशैं–तिहारका बेलामा घर फर्कन पाएकोमा खुसी व्यक्त गरेका छन्। तर सीमामा चेकजांँच गर्दा भारतीय प्रहरी तथा नेपाल प्रहरीले दुःख दिने गरेको उनीहरुको गुनासो रहेको छ। ‘चाडवाडमा घर फर्किदा साह्रै खुखी लाग्छ तर सीमामा प्रहरीले बिभिन्न बाहाना देखाएर दुःख दिने गरेका छन्’, कञ्चनपुर बेदकोटका मोहन पन्तले गुनासो गरे ।
 
कञ्चनपुर प्रहरीको ‘दशैँ–तिहार’ योजना
कञ्चनपुर प्रहरीले दशैँ तिहारमा ‘दसैँ–तिहार’ योजना नाम दिएर सुरक्षा व्यवस्थामा कडाइ गरेको छ। नेपालीको महान चाडपर्वलाई लक्षित गरी कञ्चनपुर प्रहरीले नेपाल भारतको सीमा क्षेत्रमा विशेष निगरानीसहित सुरक्षा व्यवस्थामा कडाइ गरेको हो।
 
भारतीय सीमा क्षेत्रसँग जोडिएको गड्डाचौकी, दोधारा चाँदनी, ब्रहमदेव लगायतका सीमा नाकाका सुरक्षाकर्मीलाई अवाञ्छनीय गतिविधि तथा शङ्कास्पद व्यक्तिमाथि विशेष निगरानी राख्न निर्देशन दिएको कञ्चनपुर प्रहरी प्रमुख एसपि कुवेर कडायतले बताए । उनका अनुसार दसैँ–तिहार सुरक्षा योजनाभित्र सीमा संवेदनशिल क्षेत्रमा दैनिक जाँच गस्ती गरिने छ। सर्वसाधारणकोे सुरक्षाका लागि महेन्द्रनगर बसपार्क र नेपाल प्रवेशद्वारा गड्डाचौकीमा हेल्पडेस्क राखिएका छ।
 
सुरक्षा व्यवस्थालाई चुस्त बनाउन कञ्चनपुर प्रहरीले तालिम प्राप्त ‘कुकुर’ ल्याउने तयारी पनि गरेको छ। सीमा क्षेत्रमा लागू औषध एवं अवैध वस्तु र अपराध पत्ता लगाउन तालिम प्राप्त दुई ‘कुकुर’ ल्याउने उनले बताए। 
दशैँ तिहारमा मदिरा सेवन गरेर जथाभावी होहल्ला नगर्न कञ्चनपुर प्रहरीले अनुरोध गरेको छ।