ताजा खाबर :

News

image not found

निर्मला हत्याकाण्डः छोरीका निम्ति न्याय माग्दै आमाबाबु नै अनिश्चितकालीन धर्नामा !

 
रेडियो कञ्चनपुर
महेन्द्रनगर, कार्तिक २५
 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तका पक्षमा न्याय माग्दै उनका आमाबाबु नै अनिश्चितकालिन धर्नामा बसेका छन्।
 
निर्मलाका हत्यारा पत्ता लगाई कारबाही गर्न सरकार उदासिन बनेको भन्दै आमाबुबासहितको टोली आइतबारदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि अनिश्चितकालिन धर्नामा बसेका हुन।
 
कात्तिक १२ गते पत्रकार सम्मेलन गरी निर्मलाका बुवा यज्ञराज पन्तले तिहारसम्म निर्मलाको हत्यारा सार्वजनिक नगरे परिवारसहित धर्नामा बस्ने घोषणा गरेका थिए।
 
घटना घटेको साढे तीन महिनाभन्दा बढी समय बितिसक्दा पनि वास्तविक हत्यारा सार्वजनिक नभएकाले दबाब दिन धर्ना बसेको निर्मलाका बुवा यज्ञराजले बताए।
 
छोरीको न्यायको लागि अब यो लडाइँ अन्तिम रहेको भन्दै उनले न्यायका लागि ज्यानै दिन पनि आफू तयार रहेको उनको भनाइ छ। तत्काल निर्मलाका हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्न बाध्य हुने उनले चेतावनी दिए। सरकारबाट हत्यारा पहिचान गर्ने आश्वासन मात्र पाएको भन्दै उनले दुखेसोुसमेत गरे। घटनाप्रति सरकार उदासिन भएको उनको आरोप थियो।
 
आन्दोलनमा साथ रहेकी महिला अधिकारकर्मी शारदा चन्दले अब ‘वार या पार’को आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउँदै हत्यारा पत्ता लगाउन स्थानीयस्तरदेखि केन्द्रसम्म दबाब आवश्यक रहेको उल्लेख गरिन्। बालिका घटनाको अनुसन्धानमा त्रुटि गरेको भन्दै तत्कालीन एसपी डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्त गरिएपनि अनुसन्धानमा प्रमाण मेटाउनेलाई विभागीय कारबाही मात्रै पर्याप्त नहुने भन्दै अधिकारकर्मीहरू असन्तुष्ट छन् ।
धर्नामा बस्नु अघि कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा ¥यालीसहित प्रदर्शन गरिएको थियो। महेन्द्रनगरको मुख्य बजार चोक मदन चोकमा भेला भइ स्थानिय महिला अधिकारकर्मी, निर्मलाका आमाबुवा, बिद्यार्थीहरुले ¥यालीसहित प्रदर्शन गरेका हुन्। मदक चोकबाट सुरु भएको ¥याली बजार परिक्रमा गर्दै जिल्ला प्रशासन अगाडि गएर समापन भएको थियो।
 
प्रदर्शनका क्रममा सरकारको चर्को आलोचना भएको छ। निर्मला हत्याकाण्डमा सरकार उदासिन भएको भन्दै सरकारको आलोचना भएको हो। प्रदर्शनमा सहभागीहरुले ‘नेताको बानीसिकेछ, प्रहरी पनि बिकेछ’, ‘मेरी छोरीलाई न्याय दे, असक्षम गृहमन्त्री राजीनामा दे’ , ‘सिधा कुरा जनतासँग, बलात्कारी सरकारसँग,’ लगायतका नारा लगाएका थिए।
 
 
गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटना घटेको तीन महिना भन्दा बढि समय भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ।