ताजा खाबर :

News

image not found

अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा बिरामी !

रेडियो कञ्चनपुर
महेन्द्रनगर कार्तिक २९
 
छोरीका निम्ति न्यायको खोजी गर्दै कार्तिक २५ देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन्। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा चिसोका कारण बिरामी परेका हुन्।
 
बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए। उनीहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले बताए। उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छी आमाको बढी भएको देखिएको छ। 
 
यो पनिः http://www.radiokanchanpur.org.np/news_detail.php?nid=310
 
खाना कम खाने, चिसोमा धर्ना बस्ने र कम सुत्ने गरेका कारण तीनै जनाको स्वास्थ्य अवस्था बिग्रँदै गएको चिकित्सकको भनाई छ। निर्मलाका बुबाआमाको दिसा–पिसाब परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ। सडक किनारमा रातभर धर्नामा बस्दा लामखुट्टे लगायत झिंगाको टोकाइले पनि भाइरल ज्वरो लगायत समस्या देखिएको हुनसक्ने चिकित्सकले बताएका छन्।
 
साढे तीन महिना अघि बलात्कार पछि हत्या गरिएकी कञ्चनपुर भीमदत्त नगरपालिका–२, की १३ वर्षीय निर्मला पन्तको न्यायको माग गर्दै ५ दिनयता उनको परिवार अनिश्चितकालिन धर्नामा बसेको छ। तत्काल वास्तविक हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने उनीहरुले चेतावनी दिँदै आएका छन्।
 
 
 
 
 
 
स्वास्थ्य अवस्थाबारे जानकारी
निर्मलाको निम्ति न्यायको माग गर्दै अनिश्चितकालिन धर्नामा बसेका उनका आमाबुवाको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी र प्रहरी प्रमुख एसपी कुवेर कडायतले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
 
बिहीवार धर्नास्थल पुगेर उनीहरुले निर्मलाका आमाबुवाको स्वास्थ्य अवस्था बारे जानकारी लिएका हुन्। स्वास्थ्य अवस्था बुझ्दै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले थप उपचारका लागि प्रशासन र सुरक्षा निकायका तर्फबाट सहयोग गर्ने बताए।
 
गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो।
 
घटना घटेको साढे तीन महिना भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। डिएनए परीक्षणका लागि थप ४ जनाको संकलन गरिएको रिपोर्ट आइसकेको छ। शुक्रबार मात्रै रिपोर्टको बारेमा जानकारी हुने एसपी कुवेर कडायतले बताए।