ताजा खाबर :

News

image not found

निर्मला हत्याकाण्डः शंकास्पद ४ जनाको डीएनए पनि मिलेन !

 
रेडियो कञ्चनपुर
महेन्द्रनगर, कार्तिक ३०
 
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको अनुसन्धानमा रहेको नेपाल प्रहरीले शंकास्पद मानेका थप ४ जनाको डीएनए परीक्षणको रिर्पोट सार्वजनिक गरेको छ।
 
चारै जनाको डीएनए रिर्पोट शुक्रबार जिल्ला कञ्चनपुर कार्यालय कञ्चनपुरमा प्रहरीले सार्वजनिक गरेको हो। तर उनीहरु चारै जनाको डीएनए मिलेको छैन।
 
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले रेडियो कञ्चनपुरसँग भने, ‘ शंकास्पद चारमध्ये कसैको पनि डिएनए रिर्पोट निर्मलाको ‘भेजाइनल स्वाव’सँग मिलेन।’
 
प्रहरीले कार्तिक १३ गते उनीहरुको नमूना संकलन गरेर डीएनए परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो। तर उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन।
 
प्रहरीले घटनास्थल आसपासका खराब पृष्ठभूमि भएका र सोधपुछका क्रममा शंका लागेका व्यक्तिहरूमाथि डीएनए परीक्षण गरिरहेको छ। प्रहरीले घटनाको अनुसन्धानका क्रममा एक सय बढीको नमूना संकलन हुन सक्ने जनाएको छ। अन्य थप तीन जनाको डीएनए परीक्षणको तयारी भएको कञ्चनपुर प्रहरी जनाएको छ।
 
प्रहरीसँग अन्य कुनै ठोस प्रमाण नभएपछि डीएनए परीक्षणलाई अनुसन्धानको आधार बनाएको हो। यसअघि पनि ५ जनाको नमूना परीक्षण भइसकेको छ। प्रहरीले मुख्य अभियुक्तका रुपमा सार्वजनिक गरिएका भीमदत्त नगरपालिका १९ बाग्फाँटाका दिलिप विष्ट, भीमदत्त नगरपालिका १८ निम्बुखेडाका चक्रदेव बडु, तत्कालीन एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीनपाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुश विष्टको नमूना परीक्षण गरेको थियो। तर उनीहरुको पनि डीएनए रिर्पोट मिलेको थिएन।
 
गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना घटेको साढे तीन महिना भइसक्दा पनि हत्याराको पहिचान हुन सकेको छैन। घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ।