ताजा खाबर :

News

image not found

निर्मला हत्याकाण्डमा सरकार उदासिनस् !!

 
रेडियो कञ्चनपुर
महेन्द्रनगर, मंसिर ५ 
 
नेपाली कांग्रेसका युवा नेता गगन थापाले बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनामा सरकार गम्भीर नदेखिएको आरोप लगाएका छन्।
 
बुधबार कञ्चनपुरको महेन्द्रनगरस्थित कांग्रेसको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।
 
प्रनिनिधिसभा सदस्य समेत रहेका नेता थापाले निर्मला प्रकरणमा न्याय दिन सरकार उदासीन भएकै कारण सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको बताए। घटनाको अनुसन्धानमा सरकार सुरुवातदेखि उदासिन रहेको उनको आरोप छ। 
 
फरक प्रसङ्गमा उनले ओली नेतृत्वको वर्तमान सरकारले जनचाहना अनुसार काम गर्न नसकेको बताए। जनताको लामो प्रतिक्षापछि मुलुकमा स्थिर सरकार आएको तर सरकारले जनचाहना अनुसार काम गर्न नसक्दा सरकारप्रतिको जनविश्वास टुट्दै गइरहेको उनको भनाई छ ।
 
थापाले छोरीको न्यायको खोजीमा गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार अगाडि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मलाका आमाबुवालाई भेटेका छन्। बुधवार धर्नास्थल जिल्ला प्रशासन कार्यालय पुगेर नेता थापाले निर्मलाका आमाबुवालाई भेटेका हुन्।
 
भेटका क्रममा नेता थापाले चिसोले स्वास्थ्य अवस्था बिग्रँदै गएकाले निर्मलाका आमाबुवालाई स्वास्थ्यमा पनि ध्यान दिन आग्रह गरे। उनले न्यायका निम्ति लडाइँ जारी रहने बताए। ‘तपाईहरु आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नुहोस्।’ उनले भने, ‘तपाईहरुको सन्देश प्रधानमन्त्री र प्रतिपक्षी दलका सभापति समक्ष म पुर्याउँछु।’
 
यहि महिनादेखि सुरु हुने कांग्रेसको महासमिती बैठकमा तल्लो स्थानबाट प्रस्ताव प्रस्तुत हुने भएकोले त्यसको लागि प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेता थापा सुदूरपश्चिम आएका हुन्।