ताजा खाबर :

News

image not found

अपराधीहरुको मालिसले मस्त निद्रामा सरकारः संग्रौला

रेडियो कञ्चनपुर
महेन्द्रनगर, मंसिर ६
 
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला संग्रौलाले निर्मला हत्याकाण्डमा सरकारले नाटकीय ढङ्गले अनुसन्धान गरिरहेको आरोप लगाएकी छन्।
 
बिहीबार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन। 
 
बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि सरकारले तदारुता नदेखाउँदा निर्मलाले न्याय नपाएको उनको तर्क थियो। ‘सरकारको जनताको आवाज नसुनेर ठेकेदारहरुको तकिया, एनजीओहरुको बिछौना र अपराधीहरुको मालिसमा मस्त निद्राको सपनामा जहाज चढिरहेको छ’, उनले भनिन्।
 
प्रधानमन्त्री, गृहमन्त्री र अनुसन्धानमा संलग्न सरकारी निकायले नै घटनालाई ढाकछोप गर्न खोजेकोउनको आरोप छ । ‘यो घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ’, संग्रौलाले भनिन्, ‘सरकार, सिहंदरबार र बालुवाटारमा बसेर अपराधीलाई लुकाउन लागि परेको छ।’
 
घटना भएको झण्डै चार महिना हुँदा पनि सरकारले निर्मलालाई न्याय दिन नसकेको भन्दै कांग्रेस नेतृ संग्रौलाले गृहमन्त्रीको राजीनामाको माग समेत गरिन्।
 
प्रतिनिधिसभा सदस्य समेत रहकी संग्रौलाले निर्मलाको न्यायको निम्तिको आन्दोलनलाई एनजीओ र आईएनजीओले भाड्न खोजेको आरोप लगाइन्।
 
‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुगेकी नेतृ संग्रौलाले बिहीबार धर्नामा बसेका निर्मलाका आमाबुवासंग पनि भेट गरिन। धर्नास्थल जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्वार पुगेर उनले पीडित परिवारलाई ऐक्यवद्धता जनाइन्।
 
घटनाको बारेमा आफूहरुले सदनमा आवाज उठाइरहेको बताउँदै उनले सदन र सडक दुवै तताउन आफू ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानमा निस्किएको बताइन्। त्यसका लागि सुदूरपश्चिमका नौ वटै जिल्लाका सम्पूर्ण नागरिकसँग भेटघाट, छलफल गरिने उनले जानकारी दिइन्।