ताजा खाबर :

News

image not found

अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुबामा देखियो मानसिक समस्या !

संवाददाता
महेन्द्रनगर, मंसिर ७
 
बलात्कारपछि हत्या भएकी छोरीको न्यायका निम्ति अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुबाको मानसिक अवस्था बिग्रिँदै गएको छ।  गत २५ कार्तिकदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको प्रवेशद्वारमा धर्नामा बसेका निर्मलाका बुबा यज्ञराजको मानसिक अबस्था बिग्रिँदै गएको हो।
 
यज्ञराजको स्वास्थ्य अवस्थासँगै मानसिक अवस्था पनि बिग्रिँदै गएको चिकित्सकहरुले बताएका छन्। उनले पछिल्लो समय अस्वभाविक व्यवहार देखाउने गरेका छन्। रातमा नसुत्ने, बर्बराउने र दिउँसो रुँदै, अरुलाई गालीगलौज गर्दै बजारमा हिँड्न थालेका हुन।
 
अस्वभाविक व्यवहार गर्न थालेपछि उनलाई सम्हाल्न गाह्रो परेको स्थानीयहरु बताउँछन्। निर्मलाको मृत्युपछि यज्ञराज डिप्रेसनमा परेका कारण उनले यस्तो व्यवहार देखाउने गरेको चिकित्सकहरु बताउँछन्।
 
 
उता कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले पनि पन्तको स्वास्थ्यमा समस्या देखिएको पुष्टि गरे। पन्तलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको पनि उनले बताए। तर, परिवारका सदस्यहरुले काठमाडौँ लैजाने भन्ने बारेमा निर्णय लिइसकेका छैनन्। परिवारको निर्णयपछि ४ जनासम्मलाई काठमाडौँ पठाउने तयारी रहेको विष्टले जानकारी दिए।
 
परिवार र अधिकारकर्मीको रोहवरमा थप उपचारका लागि यज्ञराजलाई सुविधा सम्पन्न अस्पतालमा पठाउने तयारी भइरहेको हो। निर्मलाको बुबाको बिग्रिँदै गएको स्वास्थ्य अवस्थाका बारेमा केन्द्रमा पनि जानकारी गराएको विष्टको भनाई थियो।
 
पछिल्लो समय यज्ञराजको मानसिक अवस्था अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार थप चिन्तामा परेका छन्।