ताजा खाबर :

News

image not found

निर्मलाका बुवा यज्ञराजलाई उपचारका लागि काठमाडौं लगियो

रेडियो संवाददाता
महेन्द्रनगर, मंसिर ८
 
बलात्कारपछि हत्या गरिएकी छोरीको न्यायको निम्ति अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका बुवामा मानसिक समस्या देखिँदै गएपछि उपचारका लागि काठमाडौं पठाइएको छ।
 
चिकित्सकहरुको सल्लाहमा शनिवार यज्ञराज पन्तलाई थप उपचारका लागि काठमाडौंको पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले बताए।
 
उनका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ। छोरीको बलात्कार र हत्या पछि पछिल्लो समय यज्ञराज डिप्रशेनमा गएकाले मानसिक स्वास्थ्यमा समस्या देखिएको छ। चिकित्सकहरुले सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्नु पर्ने सुझाव दिएपछि काठमाडौँ लगिएको हो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट पनि काठमाडौं गएका छन्।
 
पछिल्लो समय यज्ञराजले अस्वभाविक व्यवहार देखाउने गरेका छन्। रातमा नसुत्ने, बर्बराउने र निर्मलाको नाम लिदै रुने, गालीगलौज गर्दै बजारमा हिँड्न थालेका छन्। यज्ञराजको मानसिक अवस्था अस्वभाविक रुपमा बिग्रिँदै गएपछि परिवार थप चिन्तामा परेका छन् । गत कार्तिक २५ गतेदेखि निर्मलाको परिवार न्यायको खोजीमा जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धारमा धर्नामा बसेका थिए।
 
निर्मलाको बलात्कार तथा हत्या भएको झण्डै चार महिना पुग्नै लाग्दा समेत निर्मलाले न्याय पाउन सकेको छैन्। गत १० साउनमा ‘होमवर्क’ गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ कि १३ वर्षीय निर्मला पन्तको अर्को दिन उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। घटना घटेको चार महिना पुग्नै लाग्दा पनि हत्याराको पहिचान हुन सकेको छैन।
 
अझै न्यायको खोजीमा धर्नामा बसेका निर्मलाका बुवाको मानसिक अवस्थामा समस्या देखिएकाले परिवार निकै चिन्तामा परेको छ। घटनाको अनुसन्धानका लागि सातवटा छानबिन टोली गठन भए पनि प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’ जस्तै बनेको छ।