ताजा खाबर :

News

image not found

महाकाली अञ्चल अस्पतालको दुर्दशाः न विशेषज्ञ डाक्टर न एम्बुलेन्स !

गोकुल जोशी
महेन्द्रनगर, मंसिर १०
 
कञ्चनपुरको सदरमुकाम महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अस्पताल दुई वर्षयता एम्बुलेन्सविहीन बनेको छ।
 
अस्पतालमा रहेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएपछि अञ्चल अस्पताल एम्बुलेन्सविहीन बनेको हो।
 
भारतीय दूतावासले सहयोग गरेको एक मात्र एम्बुलेन्स पनि बिग्रिएर बेकामे बनेपछि अस्पताल आउने बिरामी एम्बुलेन्स सेवाबाट वञ्चित हुनुपरेको छ।
 
अस्पतालका एम्बुलेन्स दुई वर्ष अगाडि नै बिग्रीएर थन्किएपछि अस्पतालसँग अहिले आफ्नो एउटा पनि एम्बुलेन्स नभएको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए। उनले भने, ‘यसबारे सरकारलाई पटक–पटक जानकारी गरायौं तर हाम्रो कुराको सुनुवाइ भएन।’
 
अञ्चल अस्पतालमा एम्बुलेन्सजस्तो अपरिहार्य साधन नहुँदा बिरामी मर्कामा परेका छन्। यदि बिरामी रेफर गर्न वा अन्य ठाँउ लैजानु परेमा चर्को भाडा तिरेर अन्य ठाउँमा एम्बुलेन्स लिउनुपर्ने बाध्यता छ।
 
चुनावनका बेला महाकाली अञ्चल अस्पताललाई मुख्य एजेन्डा बनाएका उम्मेदवार चुनाव जितेपछि अहिले अस्पतालको हालतबारे बेखबर बनेको स्थानीय बासिन्दाको आरोप छ। ‘एम्बुलेन्स नहुनु’ मात्र महाकाली अञ्चल अस्पतालको समस्या होइन। यो अस्पताल अहिले समस्या नै समस्याले जेलिएको छ।
 
विशेषज्ञ डाक्टर नै छैनन् 
सरकारले महाकाली अञ्चल अस्पतालमा दरबन्दीअनुसार डाक्टर पठाउन सकेको छैन । हाल अस्पतालमा तीन जना विशेषज्ञ डाक्टर मात्र छन्। यद्यपि उक्त अस्पतालका लागि २७ डाक्टरको दरबन्दी छ।
 
जसमा १८ जना भने विशेषज्ञ डाक्टर पर्छन्। विशेषज्ञ डाक्टर नहँुदा अस्पतालले दिने स्वास्थ्य सेवा प्रभावकारी बन्न सकेको छैन।
 
हाल अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञ, हाडजोर्नी विशेषज्ञ र सर्जनबाहेक अन्य विशेषज्ञ डाक्टर नभएको महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले बताए।दरबन्दीअनुसार डाक्टर नहुँदा एउटै डाक्टरले विभिन्न रोगका बिरामीलाई हेर्नुपर्ने अवस्था छ।
 
कार्यालय प्रमुख पनि छैनन् 
अञ्चल अस्पताल ६ वर्षदेखि निमित्त कार्यालय प्रमुखको भरमा सञ्चालन भइरहेको छ। अस्पताल २०६९ सालयता प्रमुखविहीन बनेको हो। अहिले महिला तथा स्त्री रोग विशेषज्ञ हिक्मत श्रेष्ठ, निमित्त कार्यालय प्रमुखको रूपमा रहेर सेवा दिँदै छन्।
 
कार्यालय प्रमुखका लागि ११औं तहका डाक्टर हुनुपर्ने प्रावधान तर महाकाली अञ्चल अस्पतालमा भने नवौं तहका डाक्टरले कार्यालय प्रमुखका रूपमा काम गरिरहेका छन्।
 
‘आईसीयू’ सेवा आफै आईसीयूमा 
अञ्चल अस्पतालले दिने भनेको ‘आईसीयू’ सेवा आफंै ‘आईसीयू’मा भर्ना भएजस्तै भएको छ। अर्थात् आईसीयू सेवा अहिलेसम्म सञ्चालन हुन सकेको छैन।
 
दुई वर्षअगाडि नै ‘आईसीयू’का उपकरणहरू जडान गरिए पनि सेवा सुरु हुन नसेको हो। ‘आईसीयू’ सञ्चालनका लागि आवश्यक जनशक्ति नहुँदा सेवा सञ्चालनमा आउन नसेको निमित्त प्रमुख हिक्मत श्रेष्ठ बताउँछन्।
 
उनले भने, ‘आईसीयूका लागि आवश्यक सबै उपकरण जडान गरेर तयारी अवस्थामा राखिएको छ तर हामीसँग डाक्टरहरू छैनन्, त्यसैले सञ्चालनमा आएको छैन।’
 
यदि दक्ष जनशक्ति भएमा तुरुन्तै ‘आईसीयू’ सञ्चालन गर्न सकिने उनले बताए। डाक्टर अभावमा दैनिक सेवा सञ्चालनमा समेत समस्या आइरहेका बेला ‘आईसीयू’ सञ्चालन हुन नसक्ने प्रमुख श्रेष्ठको भनाइ छ।
 
आईसीयू सञ्चालनका लागि फिजिसियन, एनएस थेसियन एकरएक जना, बाल रोग विशेषज्ञ र केही नर्स भए आईसीयू सञ्चालन गर्न सकिने उनी बताउँछन् । अञ्चल अस्पतालका समस्याबारे सरकारलाई जानकारी गराउँदा पनि आश्वासन मात्र पाउने गरेको उनले गुनोसो गरे।
 
महाकाली अञ्चल अस्पताललाई टिचिङ हस्पिटल बनाउने प्रतिबद्धता गरेर प्रतिनिधिसभाको चुनाव जितेका डा। दीपकप्रकाश भट्टले अस्पतालका लागि केही गर्न नसकेको स्थानीय बासिन्दाको आरोप छ। अस्पतालका विषयमा प्रतिनिधिसभाका सांसद भट्टसँग बुझ्दा आफ्नो चुनावी प्रतिबद्धतामा कत्ति पनि विचलित नभएको जिकिर गरे।
 
उनले अस्पतालको गुणस्तर उकास्न आफूले सक्दो प्रयास गरिरहेको दाबी पनि गरे। उनले भने, ‘मैले सक्दो पहल गरिरहेको छु। अब अञ्चल अस्पताल केन्द्र सरकारभन्दा पनि प्रदेश सरकारसँग जोडिएको छ। त्यसैले प्रदेश सरकारसँग समेत अस्पतालको समस्या समाधानका लागि छलफल गरिरहेको छु।’