ताजा खाबर :

News

image not found

निर्मला पन्तको पोस्टरले यसरी रंगियो, महेन्द्रनगर ।

 
संवाददाता
महेन्द्रनगर,१४ मंसिर । 
बलात्कार पछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको पक्षमा न्यायको माग गर्दै दवावस्वरुप महेन्द्रनगरमा निर्मलाको तस्विर अंकित पोस्टरहरु टाँसिएका छन् ।
 
स्थानीय  महिला अधिकारकर्मी र निर्मलाकी दिदी मनिषाले शुक्रवार ती पोस्टरहरु टाँसेका हुन । 
 
निर्मलाका हत्यारालाई कानूनी दायरामा ल्याउनु पर्ने माग गर्दै  पोस्टरहरु टाँसिएको निर्मलाका दिदी मनिषाले बताइन् । सरकारले अपराधीलाई पक्राउ गर्न ढिलाइ गरेको र पछिल्लो समय यो विषयमा आवाज उठ्न छोडेकाले पोस्टरहरु टाँसिएका हुन । 
 
शुक्रवार राजधानीमा लगाइएका  निर्मलाको तस्विर अंकित पोस्टरहरु प्रहरीले हटाउनुका साथै १२ जनालाई  प्रहरीले नियन्त्रणमा लिएको थियो । तर यता  महेन्द्रनगर भने, तिनै पोस्टरले रंगिएको छ । अहिले महेन्द्रनगरमा हेर्दा जता जतै निर्मलाको फोटो अंकित पोस्टरहरु देखिन्छन् ।
 
महेन्द्रनगर बजारका विभिन्न गल्ली, चोक–चोकमा निर्मलाको तस्विर अंकित फोटोहरु टाँसिएका हुन । बजार क्षेत्रका साथै जिल्ला प्रशासन कार्यालयको प्रवेशद्धारमा पनि पोस्टरहरु टाँसिएका छन् । महेन्द्रनगरका सडकमा रहेका बिजुलीका पोल र भित्तामा पनि पोस्टर टाँसिएको छ । 
 
ती पोस्टरहमा ‘सरकार भेटियो, न्याय भेटिएन’ तथा अंग्रेजीमा ‘न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो’ भन्ने लेखिएको छ ।