युवा पुस्तामा करुणा, मानवता, सहभाव जगाउने किताब आउन जरुरी छ

अमर न्यौपाने नेपाली साहित्यमा उम्दा नाम हो । ‘पानीको घाम’, ‘सेतो धरती’, ‘करोडौं कस्तूरी’ पुस्तकमार्फत् पाठकको मन जितेका अमर मदन पुरस्कार तथा पद्मश्री साहित्य सम्मानसमेत जितेका साहित्यकार हुन् । अहिले उनी नयाँ उपन्यास ‘गुलाबी उमेर’ ल्याउने अन्तिम तयारीमा जुटेका छन् । भदौ २१ गते ‘गुलाबी उमेर’ फाइन प्रिन्टमार्फत् सार्वजनिक हुँदैछ । अमरका अनुसार एउटी किशोरीको हुर्कंदो उमेरको कथा हो, ‘गुलाबी उमेर’ । किशोर किशोरीको मानसिक तथा शारीरिक परिवर्तन र रहस्यहरुको कथा बोल्ने ‘गुलाबी उमेर’ सँगै अमरसँग नेपाली साहित्य र उनको लेखनका केन्द्रित रहेर बाह्रखरीले गरेको कुराकानीः

सेतो ‘धर्ती’बाट मदन पुरस्कार र जुन प्रसंशा पाउनुभएको थियो, ‘करौँडो कस्तूरी’ मा त्यो पाउन किन सफल हुनु भएन जस्तो लाग्छ ?

हुन त मैले ‘सेतो धरती’मा भन्दा धेरै मिहिनेत ‘करोडौँ कस्तूरी’मा गरेको थिएँ । ‘सेतो धरती’भन्दा ‘करोडौँ कस्तूरी’ मन पराउने पाठकहरु पनि धेरै नै हुनुहन्छ । आ–आफ्नो स्वाद हो । तर यतिमात्र भनेर म तपाईंको प्रश्नबाट फुत्किन पाउँदिनँ । ‘सेतो धरती’ मनले लेखिएको उपन्यास हो भने ‘करोडौँ कस्तूरी’ मस्तिष्कले लेखिएको उपन्यास हो । मन र मस्तिष्कको लडाइँमा जहिले पनि मनको जित हुँदोरहेछ ।

मन र मस्तिष्कको लडाइँमा मनकै जित हुन्छ भन्ने थाहा पाउँदापाउँदै किन मस्तिष्कले लेख्नुभयो त ?

किनभने मस्तिष्क बिना जीवन पूरा हुँदैन ।

नेपालका कतिपय राम्रा लेखकको एउटा कृति सफल भएपछि अर्को कृति किन कमजोर हुँदै गएको ?

हा हा हा... अहिले त हाम्रो देशमा राजा छैनन् । राजा हुँदा राजाको जेठो छोरा नै राजा हुन्थे । देवकोटाको पहिलो किताब ‘मुनामदन’, डायमण्ड शमशेरको पहिलो किताब ‘वसन्ती’, गोविन्दबहादुर गोठालेको पहिलो किताब ‘पल्लो घरको झ्याल’, पारिजातको पहिलो किताब ‘शिरीषको फूल’, ... हेर्नु न सबै राजा किताब ! 

बहुपति प्रथाको विषयमा लेख्छु भन्दै हुनुुहुन्थ्यो तर अचानक युवा पुस्तामा केन्द्रित भनिएको ‘गुलाबी उमेर’ मा कसरी आकर्षित हुनुभयो ?

मेरो अल्छ्याइँलाई गजब मीठो प्रश्न गर्नुभयो । लेखेर राखेको छु । जति पुरानो हुँदै गयो, मदिराको लेभल उति बढ्दै जान्छ । एकदुई वर्षमा यो डबल ब्लाक भएर आउला ।

‘गुलाबी उमेर’ कस्तो खालको उपन्यास हो ?

एउटी किशोरीको हुर्कंदो उमेरको कथा । उसको उमेरमा आउने मानसिक तथा शारीरिक परिवर्तन र रहस्यहरुको कथा हो ।

यो उपन्यास मनले लेख्नुभयो कि मस्तिष्कले ?

दुवैले । जीवनमा धेरै कुरा दुई भएपछि मात्र पूरा हुने रहेछ । आँखा दुइटा, कान दुइटा, हात दुइटा, खुट्टा दुइटा, मानिस बनेकै दुइटाबाट– ओभम् र स्पर्मबाट । 

तपाईंको उपन्यास लेखनमा यु–टर्न आएको हो ?

थाहा छैन । तर म प्रत्येक किताबमा युटर्न आओस् भन्ने चाहन्छु र त्यसैअनुसार प्रयास गर्छु । तपाईंले मेरो यही प्रयास देखेर यस्तो प्रश्न सोध्नुभएको होला ।

बजारले गरेको माग बमोजिम लेखकले लेख्ने कि लेखकको आफ्नो विचार अनुसार लेख्ने ?

दुवै मिसाएर । अघि नै एउटाले मात्र केही पनि पूरा नहुने कुरा आइसक्यो । आफ्नो लागि मात्र लेख्ने हो भने त लेखर मात्र राखे भयो । छापेपछि त अरुलाई पनि सोच्नुपर्यो । अरुलाई तपाईंले बजार भन्नुभयो, म पाठक भन्छु ।

‘गुलाबी उमेर’ तपाईंले आफ्नो चाहनाभन्दा पनि बजारको नाडी छामेर प्रकाशकले गरेको आग्रहलाई नाईं भन्न नसक्नु भएको भन्ने टिप्पणी छ नि !

नाडी त छामेरै लेखेको हुँ तर ‘गुलाबी उमेर’ (१३–१९ वर्ष)का किशोरकिशोरीको नाडी छामेर लेखेको हुँ ।

तपाईंलाई कहिले युवापुस्ताले यस्तो किताब लेख्नुपर्यो भन्ने माग गर्नुभएको छ ?

करोडौँ कस्तूरी एउटा शैक्षिक उपन्यास भएकाले धेरै स्कुल तथा कलेजहरुमा कार्यक्रमहरु भए । धेरै विद्यार्थी सोधेका थिए– हाम्रो कथा पनि लेख्नोस् न । खासमा, उनीहरुको अनुरोधले पनि मलाई गुलाबी उमेर लेख्न जगाएको हो । 

तपाईंको आफ्नो लेख्ने जुन शैली थियो त्यसलाई परिवर्तन गर्नु बजारको माग कि तपाईंको चाहना ?

मेरो चाहना । किनभने, प्रत्येक किताब फरक तरिकाले लेखौँ भन्ने लाग्दो रहेछ । मेरा हरेक आख्यान फरकफरक होऊन् भन्ने चाहन्छु । त्यही चाहनाको प्रतिफल नै गुलाबी उमेर पनि हो । 

‘सेतो धर्ती’ले पाठकलाई रुवायो, ‘करौँडो कस्तुरी’ले आफ्नो प्रतिभा चिन्न हौसला दियो, ‘गुलाबी उमेर’ले के दिन्छ ?

केरा खाएपछि मात्र केराको स्वाद थाहा हुन्छ । पाठकहरुसम्म उपन्यास पुगेपछि यसको स्वाद उहाँहरुले आफैँ लिनुहुनेछ ।

अचेलका पाठक के पढ्न रुचाउँछन् जस्तो लाग्छ तपाईंलाई ?

आफ्नो जस्तै अरुको कथा । निराशालाई आशाले जितेको जीवनवादी कथा ।

पुस्तकको बजार खस्कदै गएको हो ?

पहिलेपहिले कुखुराको भालेले ब्युँझाउँथ्यो अहिले मोबाइलले ब्युँझाउँछ । गाउँघरमा समेत ब्रोइलर र लेयर्स कुखुरा मात्र छन् । ती बास्दैनन् । मोबाइल बासेपछि ब्युझेको मानिस कमोडमा बस्दा पनि मोबाइल नै चलाइरहन्छ ।  किताब पढ्ने समय सोसियल मिडिया र युट्युबहरुले लिइदिएर बजार खस्के जस्तो लाग्छ । तर बजार फेरि जाग्छ । किताब पढ्ने संस्कृति त सभ्यतासँगै विकास हुँदै जान्छ । यो एउटा तरल अवस्था मात्र हो ।

नयाँ पुस्ताले ई–बुक माग गरेको हो ?

हो । तर पेपरबुकको मजा ई–बुकले देला जस्तो लाग्दैन । ई–बुक र पेपरबुकको फरक भिडियो च्याट गर्नु र प्रत्येक्ष भेटेर कुरा गर्नुको फरक जस्तै लाग्छ । पोहोर म युरोप भ्रमणमा जाँदा रेल, पार्क, रेस्टुरेन्ट, बन्दरगाहाहरुमा ९९ प्रतिशत मानिसको हातमा पेपरबुक नै देखेको थिएँ ।  

पुस्तक बिक्री नभएर प्रकाशकहरु निराश भइरहेको अवस्थामा तपाईंको उपन्यास आउँदैछ । कत्तिको डर लागिरहेको छ ?

डरमा पनि पाठकहरुको माया छ । म के कुरामा ढुक्क छु भने केही न केही भए पनि गुलाबी उमेरले बजारलाई उठाउनेछ ।

तपाईंले मदन पुरस्कार लगायत थुपै पुरस्कार पाउनुभएको छ । पुरस्कारले एउटा लेखकलाई के दिन्छ ?

अक्षर त तिनै हुन् । पुरस्कार हाइलाइटर हो । पुरस्कार पाएपछि पुस्तकमा धेरैको आँखा पर्छ । यद्यपि हाइलाइटरहरु धेरै प्रकारका हुन्छन् ।

नेपाली साहित्यमा युवा लक्षित पुस्तक कत्तिको छन् ?

एकदमै कम । हामीले युवाहरुको कथा एकदमै धेरै लेख्नुछ, जुन किताबहरु आशाले भरिएका होऊन् । अहिलको युवा पुस्ता एकदम भड्किरहेको पनि छ । मेसिन जस्तो पनि भएको छ । उनीहरुमा करुणा, मानवता, सहभाव जगाउने किताब आउन जरुरी छ ।

प्रतिकृया दिनुहोस

यस कारण यी ३ समयमा कहिल्यै पनि नसुत्नुस ! जानकारीको लागि शेयर गरि जान्नुहोस !

मानिसलाई समान्यतया सुत्नु जरुरी छ सुत्नु भनेको नै आराम गर्नु हो । अधिकांश मानिसहरु दिन ५÷६ घण्टा सुत्छन् । तर यसको सुताईको समय भने मानिससले ध्यान

सलमानको फिल्ममा सुनील थापा, मुखियाको भूमिकामा देखिने

पर्सा । पाँच बर्षअघि बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए, अभिनेता सुनील थापा । लामो समय उनी यही गेटअपमा देखिरहे

अद्यापि

कविता : शब्दहरु विस्फोटित छन् लालीगुराँस रोएको साँझ न समुद्रका मनहरु हराएका छन् न मनका समुद्रहरु हराएका छन् ! सडकमा वन्य जीवन : खरायोहरुको